नेपाल विज्ञापन संघद्वारा नयाँ प्रधानमन्त्रीलाई बधाई, हिंसात्मक घटनाप्रति चिन्ता


काठमाडौँ ।

नेपाल विज्ञापन संघले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई नेपालको पहिलो महिला तथा ऐतिहासिक रूपमा ४२ औँ प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना दिएको छ । संघले कार्कीको नेतृत्वमा सुशासन, सुसंस्कृत समाज र जनअपेक्षाअनुसारको उदाहरणीय शासनव्यवस्था कायम हुने विश्वास व्यक्त गरेको छ ।

संघले भदौ २३ गते जेन–जेडको आह्वानमा सुरु भएको आन्दोलन भदौ २४ गते हिंसात्मक रूप लिँदा अपार जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउने सर्वसाधारण तथा राष्ट्रसेवकलाई श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारमा समवेदना र घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।

संघद्वारा प्रसित विज्ञप्तिमा कान्तिपुर मिडिया समूह, अन्नपूर्ण पोस्टलगायतका सञ्चारगृहमा भएको आक्रमण र क्षतिप्रति कडा शब्दमा भत्र्सना गर्दै लोकतान्त्रिक समाजमा विचार अभिव्यक्तिको अधिकार सबैलाई रहे पनि अरूको अधिकार हनन् गर्ने वा क्षति पु¥याउने कार्य अस्वीकार्य भएको उल्लेख छ ।

संघले हालैको आन्दोलनका कारण अरबौँ रुपैयाँ बराबरको सार्वजनिक तथा निजी सम्पत्ति, लगानी र उद्योग व्यवसायमा परेको क्षति मात्र नभई सर्वसाधारणको दैनिक जीवनमा आवश्यक वस्तु तथा सेवाको आपूर्ति प्रभावित भएको बताएको छ । यसले बजार आपूर्ति श्रृंखला र उपभोग्य सामग्री वितरणमा प्रत्यक्ष असर पारेको भन्दै संघले चाँडपर्व नजिकिँदै गर्दा शान्ति–सुरक्षा सुनिश्चित गरी बजार आपूर्ति सहज बनाउन सरकार, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवालालाई अपिल गरेको छ ।

संघले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी तथा राजस्वको सदुपयोग हुने वातावरण निर्माण होस् भन्ने अपेक्षा राखेको छ । साथै, यस्ता समस्याका कारण भविष्यमा पुनः आन्दोलन वा विरोध कार्यक्रम दोहोरिन नपरोस् भन्ने आशा समेत व्यक्त गरेको छ ।