काठमाडौं परिसरमा विशेष सुरक्षा परिचालन, अपरेसन कमान्डरमा एसपी पवन भट्टराई


काठमाडौं ।

उपत्यकामा सुरक्षात्मक सतर्कता बढाइएसँगै विशेष अपरेसन कमान्ड गठन गरिएको छ । काठमाडौं परिसर अपरेसन कमान्डरका रूपमा एसपी पवन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

उपत्यकामा सुरक्षालाई प्रभावकारी बनाउन विभिन्न सेक्टरहरू बनाई त्यहाँ जिम्मेवारी तोकिएको छ । यस क्रममा एसपी बालनरसिंह राणा, दीपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई आ–आफ्नो क्षेत्रको सुरक्षा नेतृत्व गर्ने जिम्मा तोकिएको हो ।

स्रोतका अनुसार हालैका आन्दोलन, हिंसात्मक गतिविधि तथा कैदीबन्दी फरार घटनालाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षाकर्मीको तैनाथी र कमाण्ड संरचना कडा बनाइएको हो ।

सुरक्षाप्रहरीलाई समन्वय गरेर तत्काल कारबाही गर्न सक्ने उद्देश्यसहित सेक्टरहरूमा खटाइएका एसपीहरूलाई आवश्यक अधिकारसमेत प्रदान गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षास्रोतले उपत्यकामा कुनै पनि असामान्य घटना हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको र आवश्यक परे थप सुरक्षा व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।