भाटभटेनीका कुन कुन स्टोर सञ्चालनमा आयो


काठमाडौँ ।

जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड तथा आगजनीबाट ठूलो क्षति बेहोरेको भाटभटेनी सुपर स्टोर शनिवार पुनः सञ्चालनमा आएको छ । स्टोरका उपत्यकाभित्रका ९ र बाहिरका ७ गरी कुल १६ आउटलेटहरू खुलेको जानकारी भाटभटेनीले आफ्नो आधिकारिक फेसबुक पेजबाट दिएको छ ।

काठमाडौँभित्रका टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कालंकी, राधेराधे र बालाजुका आउटलेट खुलेका हुन् । त्यसैगरी, उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका आउटलेट पनि सञ्चालनमा आएका हुन् ।

तोडफोड भएका स्टोरलाई व्यवस्थापन गरी खुला गरिएको भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकारी पानुदत्त पौडेलले जानकारी दिए । ‘आगजनी हुनबाट जोगिएका र तोडफोडमात्रै भएका स्टोरका फुटेका सिसाहरु हटाएर पुनः सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘आगजनी भएकामा पूरै क्षति भएकाले पुनःनिर्माण गरी कहिलेबाट सञ्चालन गर्न सकिन्छ थाहा छैन ।’

भदौ २३ गतेदेखि शुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आक्रमणमा भाटभटेनी समूहको देशभरिका २७ मध्ये २१ आउटलेटमा क्षति पुगेको थियो । सो क्रममा उपत्यकाबाहिरका ७ ओटा र उपत्यकाभित्रका ५ गरी १२ ओटा स्टोर आगजनीका कारण पूर्णतः नष्ट भएका थिए ।

उपत्यकाभित्रका बौद्ध (चुच्चेपाटी, नक्साल, कोटेश्वर र महाराजगञ्जका गरी ४ र बालुवाटारको भण्डारण केन्द्र गरी ५ ठाउँमा आगजनी गरिएको थियो । त्यस्तै, उपत्यकाबाहिर पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर, धरानका स्टोरहरूमा पनि आगजनी भएको थियो । यीबाहेक पनि ९ ओटा स्टोरमा तोडफोड र सामान लुटपाट भएको जानकारी पौडेलले दिएका थिए ।

आन्दोलनका क्रममा भाटभटेनीका सामान लुटिएका भिडियो सामाजिक सञ्जालमा आएका छन् । यो देखेका सर्वसाधारणहरूले सामाजिक सञ्जालबाट लुटिएका सामान फिर्ता गरिदिन आह्वान गरिरहेका छन् ।