काठमाडौँ।
भदौ २४ गते मंगलवार जेन– जी प्रदर्शनको क्रममा संसद भवन बानेश्वर क्षेत्रमा गोली लागेर मृत्यु भएका दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ४ निगालेका अभिषेक चौलागाईको परिवार अहिले विक्षिप्त बनेका छन् ।
कक्षा १२ पास गरेर भक्तपुर नयाँ ठिमीको चाणक्य मेनेजमेन्ट कलेजमा स्नातक तहमा अध्यनसंगै रोजगारी समेत गर्दै आएका परिवारको एक्लो छोरो अभिषेकको प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएपछि मृतकका बुबा दिनेश चौलागाई र आमा रिता सुवेदी चौलागाई अहिले विक्षिप्त बनेका छन् । हाम्रो संसारै उजाडियो मृतक अभिषेकका बुबा दिनेशले भने– अब कसरी मन बुझाउन सकिएला र !
जेन– जीले सरकारले गरिरहेको भ्रष्टाचार, अनियमितता, नातावाद– कृपावाद जस्ता सुशासन विरोधि गतिविधि विरुद्ध सोमवार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलवारको प्रदर्शनमा अभिषेक पनि सहभागि भएका थिए । संसद भवन बानेश्वरमा भएको प्रदर्शनमा उनलाई गोली लागेको हो । गोली लागेपछि अभिषेकलाई तत्काल साथीहरुले उद्धार गरेर अस्पताल पु¥याएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
अभिषेकको भदौ २४ गते मंगलवारनै मृत्यु भएपनि परिवारले भदौ २६ गते बिहीबार मात्र बानेश्वरकै सिभिल अस्पतालमा मृत्यु भएको जानकारी पाएका थिए ।
दिनेश चौलागाईको एक छोरा र एक छोरी मध्य अभिषेक जेठा छोरा हुन् । विगत ७-८ वर्ष देखि बुबा– आमासँगै भक्तपुरको दुवाकोटमा बसेर अध्यन गरिरहेका अभिषेक मेहेनती र इमान्दार थिए । पढेर ठुलो मानिस भएपछि परिवारको लागि धेरै काम गर्छु भन्थ्यो तर देशको लागि गोली खाएर सहिद भयो– भकानिदै बुबा दिनेशले भने ।
अभिषेकलाई गोली लागेपछि साथीहरुले उद्धार गर्ने क्रममा उसको मोबाइल, परिचयपत्र लगायतका सामग्री संगैका एकजनालाई राख्न दिएको तर ती साथीसंग फोन सम्पर्क हुन नसक्दा उसको ती सामग्रीहरु समेत पाउन नसकिएको मृतक अभिषेकका काका विनोद चौलागाईले बताए ।
उद्धार गर्नेक्रममा अभिषेकको सामग्री राख्ने साथीले फोन नम्बर ९८४११५७५४० वा ९८४१५२९१५४ मा सम्पर्क गरी ती सामग्री उपलब्ध गराईदिए उसको अन्तिम निसानी बाबु– आमाले पाउन सक्ने काका विनोद बताउँछन् ।
जेन– जी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारले राज्यको तर्फबाट केही सम्बोधन नगरी सव नबुझ्ने अडान राखेकोले अभिषेकको शव समेत परिवारले नबुझेको काका विनोदले बताए ।











प्रतिक्रिया