रसुवा।
जिल्ला प्रशासन कार्यालय रसुवाले भदौ २७ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू हुने जानकारी दिएको छ। यस अवधिभर पाँच जनाभन्दा बढी भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा अवधिभर अनशन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोध कार्यक्रम गर्न रोक लगाइएको छ।
आदेशअनुसार निजी तथा भाडाका सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइनेछ। आदेश उल्लंघन गर्ने वा पालना गराउन अवरोध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत दिइएको छ।
तर, निषेधाज्ञाको समयमा सरकारी सवारी साधन, बिरामी बोक्ने एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीका सवारी साधन, पर्यटक सवारी, मानव अधिकार आयोग र कूटनीतिक नियोगका सवारी साधनलाई भने आवागमनमा छुट हुनेछ। यस्तै, हवाई टिकट देखाएर यात्रामा निस्किने व्यक्तिहरूलाई समेत सहजिकरण गरिने जनाएको छ।












प्रतिक्रिया