राजनीतिक अन्योल अन्त्य गर्न जेनजीको निर्णायक पहल

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको माग


–अघि सारियो पाँचबुँदे प्रस्ताव, संविधानको रक्षा गरिने

काठमाडौं

देशको राजनीतिक अन्योल अन्त्य गर्न जेनजी पुस्ताले निर्णायक पहल थालेका छन् । राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको औपचारिक प्रस्ताव गरेका हुन् । आन्दोलनकारीहरूले आफूहरू सरकारमा नजाने तर ‘वाचडग’को भूमिकामा रहेर खबरदारी गर्ने स्पष्ट सन्देश दिएका छन् ।

जेन–जीको देशव्यापी आन्दोलनले राजनीतिक कोर्स परिवर्तन गर्नेसम्मको स्थितिमा पुग्दा उनीहरूले पहिलोपटक आफ्ना पाँच प्रमुख धारणा सार्वजनिक गरेका छन् । यी धारणा हालको राजनीतिक गतिरोध तोड्न नयाँ विकल्पका रूपमा हेरिएको छ । जेन–जीको आन्दोलनले जनताको नयाँ म्यान्डेट पाएको उल्लेख गर्दै उनीहरूले अहिलेको संविधान खारेज नगरी आन्दोलनको म्यान्डेडलाई कदर हुने गरी अघि बढ्नेमा जोड दिएका छन् ।

यस्ता छन् जेनजीका पाँचबुँदे धारणा

–सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार

आन्दोलनरत समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार गठनको प्रस्ताव गरेका छन् । उनीहरूको भनाइमा, कार्की एक निर्भीक, इमानदार र जनतामाझ विश्वासिलो नेतृत्व हुन् ।

–संसद् विगठन र संविधान संशोधन हुनुपर्ने

सो समूहले वर्तमान संसद् विघटन गरी संविधान खारेज नगरी आवश्यक संशोधनमार्फत जनभावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेको छ । ‘संविधान जनताको हो, त्यसैले जनभावनाअनुसार परिमार्जन हुनुपर्छ’ –उनीहरूको भनाइ छ ।

सरकारमा नजाने, ‘वाचडग’को भूमिकामा रहने

सत्ताको भागबन्डाबाट टाढा रहने बताउँदै उनीहरूले अन्तरिम सरकारको क्रियाकलापमा निगरानी राख्ने बताएका छन् । ‘हामी सरकारमा जाँदैनौं, तर सरकारको कामप्रति सतर्क रहन्छौं’ –एक प्रतिनिधिले भने ।

राजनीतिक दलसँग कुनै सहमति नगरिने

आन्दोलनलाई स्वार्थका लागि प्रयोग नगर्न दलहरूलाई उनीहरूले स्पष्ट चेतावनी दिएका छन् । ‘यो नितान्त नागरिक आन्दोलन हो । कुनै पार्टीले हाम्रो आन्दोलनमाथि खेल्न नखोजोस्’ –उनीहरूले दोहो¥याएका छन् । उनीहरूले तत्काललाई राजनीतिक दललाई कहीँ पनि संलग्न नगराइने तर पछि युवाहरूले आफ्नो दलमा हस्तक्षेप गरेर अघि बढेमा सोच्न सकिने बताएका छन् ।

संवाद गर्दै अघि बढिने

हिंसा र अराजकताबाट टाढा रहँदै शान्तिपूर्ण संवादमार्फत समाधान खोज्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । ‘संयमित भएर, सहकार्यका साथ देशलाई निकास दिन सकिन्छ’ –उनीहरूको आग्रह छ ।

संविधान खारेज नहुने संशोधनमात्र

जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले संविधानको खारेजी आफूहरूको माग नभएको स्पष्ट पार्नुभएको छ । आफूहरूले संविधान संशोधनमात्र चाहेको उहाँको भनाइ छ ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान खारेज गरे वैदेशिक हस्तक्षेपको खतरा बढ्ने भएकाले आफूहरू सो पक्षमा नभएको बताउनुभयो।
‘संविधान खारेज नगर्ने त्यसमा कति कानुनको कुरा हुँदो रहेछ, नेसनल सेक्युरिटीको कुरा हुँदो रहेछ,’ त्यसपछि एउटा गीत सम्झँदै गुरुङले भन्नुभयो– ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे ।’ यद्यपि आफूहरूको पहिलो माग संसद् विघटन भएको उहाँको भनाइ छ ।

उहाँले आफूहरू सरकारमा नजाने र बाहिर वाचडगका रूपमा मात्र रहने बताउनुभयो । उहाँले विगतका सरकारले हरेक काण्डको छानबिन गर्ने, हरेक नेताको घरको पैसा निकाल्ने र भ्रष्टाचारमा कारबाही गर्ने दाबी गर्नुभयो । उहाँले नेपालकै पहिलो महिला प्रधानमन्त्री बनाएर आफूहरूले इतिहास रच्न लागेको स्पष्ट पार्नुभयो । उहाँले पुराना पार्टीलाई आफूहरूले निषेध नगरेको भन्दै हस्तक्षेप गरेर नेतृत्वमा आउन युवा नेताहरूलाई सुझाव दिनुभयो ।