अफगानी उसेन बोल्ट : बडीबिल्डर अली बिलालको अद्भूत यात्रा

940
Shares

अफगानिस्तानको मिडा प्रान्तको एउटा सुदूर गाउँमा सन १९९४ मा जन्मिएका थिए अली बिलाल । त्यस्तो ठाउँ जहाँ सपना देख्नु नै विलासिता मानिन्थ्यो, पूरा त परको कुरा । तालिबानको कठोर शासनमा हुर्कंदै गर्दा उनको बाल्यकाल डर, अभाव र अवसरबिहीनताले भरिएको थियो । तर, त्यो अँध्यारोमा पनि अलीको भित्री आत्मामा एउटा उज्यालो सपना बलिरहेको थियो, जसले कालान्तरमा उनको जीवन उज्यालो बनाइदियो ।

बाल्यकालमा उनी धुलोमाटोमा क्रिकेट खेल्थे, रुखको फेदमा बसेर आकाश हेर्थे, अनि काठको प्लाइमा मुक्का हानेर आफूभित्रको आवेग पोख्थे । ती साधारण खेल उनका लागि केवल समय कटाउने माध्यम मात्र थिएनन्, त्यो उनीभित्र पलाइरहेको विद्रोह र जिद्दीपनको अभ्यास थियो । उनी आफूलाई एउटा यस्तो युद्धका लागि तयार गर्दै थिए जुन बन्दुक र बारुदले होइन, मेहनत र संघर्षले जीवनलाई बदल्ने थियो ।

उनीभित्रको त्यो आगाको झिल्को त्यतिबेला झन दन्कियो, जब उनले बडीबिल्डिङका हस्तीहरू जो कट्लर र बिग रामीजस्ता चर्चित बडीबिल्डरहरूको तस्बिर देखे । ती खेलाडीहरू केवल मांसपेशीको प्रतीक मात्र थिएनन्, उनीहरू अनुशासन, आत्मबल र परिवर्तनका प्रतिनिधि थिए । जुन सबै कुरा अलीले खोजिरहेका थिए, तर उनको जीवनमा त्यति बेलासम्म अटाएका थिएनन् । उनी केवल मांसपेशी बनाउने मात्र होइन, आफ्नो भाग्यमाथि पनि नियन्त्रण चाहन्थे ।

तर, उनले सोचेको जस्तो सपना पूरा गर्न सजिलो कहाँ थियो र ? १३ वर्षको कलिलो उमेरमा उनले एक्लै देश छोड्ने निर्णय गरे । जसले उनको जीवनको सबैभन्दा साहसिक अध्यायको सुरुवात ग¥यो । पाकिस्तान, इरान, टर्की, ग्रीस, इटाली, फ्रान्स हुँदै बेल्जियम पुग्ने त्यो यात्रा सपनाभन्दा बढी दुःस्वप्न जस्तै थियो । १५ वर्षको उमेरमा अवैध रूपमा प्रवेश गरेकाले ग्रीसको जेलमा ६ महिना बिताउनु, साहारा मरुभूमिको आगोसरि पोल्ने बालुवामा दुई हप्ता जिउँदै जल्नु, समुद्रमा तीन दिन भोकै संघर्ष गर्नु, यी सबै पीडाहरूको अनुभव उनका लागि अन्त्य होइन, नयाँ सुरुवात बने । अली जहाँ पुगे पनि उनले आफ्नो अडान त्यागेनन् ।

अन्ततः डेनमार्क पुग्दा पनि चुनौतीहरू सकिएका थिएनन् । भाषा थाहा थिएन, पढ्न लेख्न आउँदैनथ्यो, आफन्त कोही थिएन । तर, अलीले जिन्दगीबाट एउटा कुरा सिकिसकेका थिए, जहाँ इच्छा, त्यहाँ बाटो पनि बन्छ । उनले आफैंलै पढ्न लेख्न सिके । २० वर्षको उमेरमा उनले लेख्न थाले, २३ वर्ष पुग्दा उनी डच र अंग्रेजीमा मासिक चारवटा किताब पढ्न सक्ने भइसकेका थिए । उनको दिमाग र शरीर दुवै अनुशासनमा ढलिँदै थिए अनि मस्तिष्क र शरीर दुबै बलियो बन्दै गइरहेको थिए।
डेनमार्कमा बडीबिल्डिंग यात्रा

डेनमार्कमा संघर्षपूर्ण दैनिकी बिताइरहँदा बाल्यकालको बडीबिल्डर बन्ने सपना उनमा फेरि जाग्यो । यो पटक अलीसँग केवल चाहना मात्र होइन, उपकरण, अनुभव र भोक दुवै थियो । उनले कठोर प्रशिक्षण गरे, वैज्ञानिकले जसरी खेलको अध्ययन गरे । उनको शरीरमा परिवर्तन द्रुत गतिमा देखियो, पेटमा छिलिएको आठ प्याक्स, २० इन्च ठूला बाइसेप्स, छातीमा पहाडजस्तै मांसपेशी अनि आकर्षक शारीरिक बनोट । हरेक अभ्यास उनको संघर्षको साक्षी बन्यो । हरेक मांसपेशीको लचकपनले एउटा कथा बुन्दै थियो ।

उपाधिहरूको वर्षा

सन २०१८ मा आईएफबीबी यूरोपियन च्याम्पियनसिपमा तेस्रो स्थान प्राप्त गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा पाइला राखे । २०१९ सम्म आइपुग्दा उनले डायमण्ड कप फ्रान्स, नर्डिक कप र अर्नोल्ड क्लासिक यूरोप (एमेच्योर) जिते । अली अब केवल प्रतिस्पर्धी मात्र थिएनन्, उनी एक शक्ति पनि थिए । उनको शरीरको बनावट जति शक्तिशाली थियो, मञ्चमा उपस्थिति पनि त्यति नै प्रभावशाली बन्यो । उनले मांसपेशी मात्र बनाइरहेका थिएनन्, उनी एक विरासत निर्माण गर्दै थिए ।

“अफगानी उसेन बोल्ट”

उनको सबैभन्दा चम्किलो पहिचान “अफगानी उसेन बोल्ट” बन्यो । सन् २०२२ मा आर्नोल्ड क्लासिक यूके जितेपछि यो उपनाम उनले पाएका हुन् । जुन विश्व बडीबिल्डिङको सबैभन्दा प्रतिष्ठित उपाधिमध्येको एक हो । उनले त्यो वर्ष इम्प्रो क्लासिक प्रो, शेरू क्लासिक इटाली जिते । अनि मिस्टर. बिग इभोल्यूसन प्रो पोर्चुगलमा पनि दोस्रो स्थान प्राप्त गरे । तीब्र गतिमा एकपछि अर्को विश्वस्तरको उपाधि जितेकाले उनलाई यसो भनियो । जुन सम्बोधन अहिले उनको स्थायी नाम सरह बनिसकेको छ ।

विश्वले चिनेको वर्ष

सन २०२४ मा अलीले न्यूयोर्क प्रो र पिट्सबर्ग प्रो जिते भने विश्व बडीबिल्डिङको सर्वोच्च उपाधि मिस्टर. ओलम्पियामा दोस्रो स्थान प्राप्त गरे । २०२५ मा उनले “आर्नोल्ड क्लासिक” जिते । यो एउटा यस्तो उपाधि हो जसले उनलाई इतिहासको अमित पृष्ठमा सामेल गरिदियो । एक समय समुद्रमा भोकले लडेका युवक अहिले विश्मञ्चमा मांसपेशीहरूको राजा बनेर उभिए ।

सफल उद्यमी

अलीको सफलताको कथा केवल शारीरिक जितसम्म मात्र सीमित छैन । बडीबिल्डिङसँगै अलीले “इलाइट वेयर” नामक अन्तर्राष्ट्रिय फिटनेस ब्रान्ड स्थापना गरे । जसले उनलाई केवल खेलाडी मात्रै होइन, सफल व्यवसायी पनि बनायो । जिममा होस् या व्यापारमा, अलीको मानसिकता एउटै रह्यो, त्यो हो पूर्ण समर्पण । अलीको कथा केवल बडीबिल्डिङको कथा मात्र होइन । युद्ध क्षेत्रमा जन्मिएका नांगो खुट्टामा हिँड्ने केटो अहिले विश्वकै सबैभन्दा सम्मानित खेलाडीमध्येका एक बनेका छन् । जुन संघर्षमा कुँदिएर, सपनामा लेखिएर अहिले इतिहासमा दर्ता भएको छ ।

प्रशिक्षण र शारीरिक बनावट

बिलालको खानपान यति नियन्त्रित छ कि ‘चीट मिल’ अर्थात् अस्वस्थ भोजन बितेको वर्षमा एक पटक मात्र खाएका छन, त्यो पनि अर्नोल्ड क्लासिक यूके जितेपछि । ५ फिट ६ इन्च उचाइ, प्रतिस्पर्धाका बेला ७७–८४ किलोग्राम तौल, ४८ इन्चको छाती, २० इन्चको पाखुरा र २९ इन्चको कम्मर नै अलीको बहुमूल्य सम्पत्ति हो ।
अलीको तीन दिने साप्ताहिक प्रशिक्षण यसप्रकार छ :

– पहिलो दिन : छाती, बाइसेप्स, ट्राइसेप्स

– दोस्रो दिन : तिघ्रा, हिप्स, क्याल्फ्स

– तेस्रो दिन : ढाड र डेल्ट्स

– त्यसपछि एक दिन विश्राम ।