काठमाडौं ।
मंगलबार आगलागीबाट क्षतिग्रस्त महानगरीय प्रहरी प्रभाग भैसेपाटी स्थानीयले प्रहरीलाई स्वागत गरेका छन् । बिहीबार बिहान ११ बजे प्रहरी प्रभाग प्रमुख शशिधर शर्मा सहितको टोली क्षतिग्रस्त भवनमा बन्दोबस्तीका केही सामान लिएर प्रभागमा प्रवेश गरेका थिए ।
जेनजी पुस्ताका आन्दोलनकारीले प्रभाग भवन, प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक शर्मासहित पेट्रोलिङको लागि प्रयोग गरेको चारपाङग्रे २ वटा सवारी साधन, केही मोटरसाईकल र कार्यालय र भान्छाका सबै सामान जलाएर नस्ट पारेका थिए ।
चाडबाडको मुखमा स्थानीयको शान्तिसुरक्षा कायम गर्न माग बढेपछि जिल्ला प्रहरी परिसर ललितपुर आजबाट प्रभाग पठाएको थियो । त्यसक्रममा आज हाजिर हुन आएका प्रहरीलाई ४ वटा वडा अध्यक्ष र स्थानीय क्लब लगायतले भवन मर्मतगर्न आर्थिक सहयोग गरेका छन् । भेलामा ललितपुर महानगरपालिका २५का अध्यक्ष दौलतकुमार खत्री,२२ का सागर तुलाधर, २१ का रविन्द्र महर्जन र १८ का दामोदर खड्काले २५–२५ हजार नगद सहयोग गरेका थिए ।
संयोजक महतले ५० हजार १ रुपियाँ नगद र भवनमा ध्वस्त भएको बत्ती व्यवस्थापन गरेका थिए । त्यस्तै प्रगति युवा क्लबले २० हजार नगर, ३ दिनको लागि पुग्ने रासन, पानी ट्याङकी सहयोग गरेको छ । क्लबका सचिव प्रविण थापाले प्रहरीकोलागि डाटा सुरक्षित गर्न एकथान ल्यापटप दिएका थिए । त्यस्तै लालिमा रेस्टुरेन्टले, भैसेपाटी स्पोट्र्स एकेडेमी सानो खोकना र एकेडेमीका अध्यक्ष मिलन थापा, पत्रकार ईश्वरराज ढकाल, समाजसेवी श्रीकृष्ण थापा र गमला घरका संचालक दिपेन्द्र तुलाधरले ५–५ हजार रुपिया आर्थिक सहयोग गरेका थिए ।
सबै सहयोगीले भेला आयोजना गरी नगर र जिन्सी सहयोग गरेका थिए । प्रहरी आउनासाथ स्थानीयले भेला गरेका थिए । त्यहीबेला स्थानीय समाजसेवी सुमन महतको संयोजकत्वमा प्रभाग भवन मर्मत समिति गठन भएको थियो । समितिले तत्काल भवनमा बत्ती, पानीको बन्दोबस्त गर्ने, भान्छाघर , प्रहरी प्रमुख सहित अन्य प्रहरी बस्ने कोठा, झ्याल ढोका मर्मत पानी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
स्वागत कार्यक्रममा प्रहरी प्रमुख प्रहरी निरीक्षक शर्माले वडा अध्यक्ष र स्थानीयको साथ, सहयोग र माया महत्वपुर्ण रहेको बताए । भन्नुभयो–हामीलाई तत्काल बस्ने व्यवस्था मिलाउने निर्णय गर्नुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौ । उनले प्रहरी र स्थानीयको सहयोगले शान्तिसुरक्षा कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।
संयोजक महतले ४ जना वडाअध्यक्ष स्थानीय संघ संस्था र व्यक्तिले दिएको आर्थिक सहयोगले क्षतिग्रस्त प्रहरी प्रभाग मर्मत गरी बस्नयोग्य बनाउने जानकारी दिए । भने–प्रहरी प्रभावको भवन हाम्रो सम्पती हो, त्यसैले यस्लाई जोगाउन हामीसबै लाग्नुपर्छ । चारैजना वडा अध्यक्षले तत्काल व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेपछि आवश्यकताको आधारमा वडा कार्यालयबाट थप सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।

















प्रतिक्रिया