निजी क्षेत्रको कहाँ कहाँ के के जल्यो ?


काठमाडौँ
जेनजीको प्रदर्शन उग्र बन्दा आन्दोलनकारीले काठमाडौंका विभिन्न व्यावसायिक भवन र कार्यालयमा आगजनी गरेका छन् । नक्सालमा रहेको भाटभटेनी स्टोर, हिल्टन होटेल, लैनचौरमा रहेको एनसेलको केन्द्रीय कार्यालय आन्दोलनकारीको निशानामा परेको छ । नक्सालको भाटभटेनी आगजनीबाट ठूलो क्षति भएको छ । व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा भाटभटेनी छ । त्यसैगरी, लैनचैरस्थित एनसेलको मुख्य कार्यालयमा पनि आगजनी भएको छ । एनसेलले आफ्नो केन्द्रीय कार्यालयमा आन्दोलनकारी प्रवेश गरेर तोडफोड गरेको बताएको छ । प्रदर्शनकारीहरूले काठमाडौं सतुसंगलस्थित चौधरी ग्रुप (सीजी)को घरायसी सामग्री उत्पादन तथा एसेम्बल गर्ने उद्योग सीजी इलेक्ट्रोनिक्समा पनि आगजनी गरे । उनीहरूले उद्योगभित्रबाट सामान बाहिर सडकमा ल्याएर जलाए । प्रदर्शनकारीले सीजीको थापाथलीस्थित सीजी मोटर्सको शोरूममा आक्रमण गरेका छन् । अन्नपूर्ण पोष्ट पत्रिकाका मालिकसमेत रहेका क्याप्टेन रामेश्वर थापाको स्वामित्व सिम्रिक एयरमा छ । प्रदर्शनकारीले बत्तीसपुतलीमा मारवाडी सेवा समितिले सञ्चालन गरेको व्यावसायिक भवनमा पनि तोडफोड र आगजनी गरेका छन् । देशभर नेताका लगानी रहेका प्रतिष्ठान र होटेलहरू आन्दोलनकारीको निशानामा परेका थिए । प्रदर्शनकारीले तीनकुनेस्थित सिम्रिक एयरको कार्यालय पनि तोडफोड र आगजनी गरेका छन् ।


कुन व्यापारीको घर जल्यो
प्रदर्शनकारीले व्यवसायीद्वय विनोद चौधरी र शेखर गोल्छाको घरमा पनि तोडफोड, लुटपाट र आगजनी गरेका छन् । चौधरीको रविभवनस्थित निवास र शेखर गोल्छाको सीतापाइलास्थिति निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।


सञ्चार माध्यम
प्रदर्शनकारीको निशानामा नेपाल टेलिभिजनसहित निजी सञ्चारमध्यम कान्तिपुर दैनिक र अन्नपूर्ण पोस्टको भवन पनि परे ।
बैँक
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड भएको छ । प्रदर्शनकारी बैंक तोडफोड गर्दै भित्र पसेका छन् भने प्रदर्शनकारीहरूबाट बैंक तोडफोड भए पनि क्षतिको विवरण जानकारी हुन सकेको छैन ।