काठमाडौं।
मंगलवार भएको घटनामा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारसहित कम्तीमा २५ जना जलनका घाइतेको कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
बर्न सेन्टरका प्रमुख डा. किरण नकर्मीले केहीको अवस्था गम्भीर भएको तथा अहिले २५ जनाको उपचार भइरहेको बताउनुभयो । उहाँले ३ जनालाई भर्ना गरी उपचार गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये धेरैजना सामान्य वा मध्यम स्तरमा छन्, तर ५ जनाको अवस्था चिन्ताजनक छ । उनीहरूमध्ये कतिपयलाई गोली लागेको आशंकामा थप परीक्षण गरिएको छ ।
खनालपत्नी रविलक्ष्मी चित्रकारको अवस्था ‘क्रिटिकल’ रहेको बताउनुभयो । ‘उहाँलाई गहिरो जलन भएको छ । शरीरका संवेदनशील भागमा चोट पुगेको छ, त्यसैले अवस्था गम्भीर नै छ’ –उहाँले भन्नुभयो । चिकित्सकहरूको टोलीले उहाँलाई निरन्तर निगरानीमा राखेको र आवश्यक परे थप उपचारका लागि थप विकल्प पनि विचार भइरहेको अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार, हालसम्म भर्ना गरिएका तीनमध्ये दुई जनालाई इन्टेन्सिभ केयर युनिटमा राखिएको छ । बाँकी घाइतेलाई आपतकालीन कक्षमा प्राथमिक उपचारपछि औषधि र ड्रेसिङ गरेर घर पठाइएको छ । घाइतेमध्ये धेरैजना आन्दोलनमा प्रहरीले चलाएको अश्रुग्यासबाट भाग्ने क्रममा भीडभाडमा लडेर वा आगोमा परेर घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख छ । अस्पतालमा आएका केही बिरामीमा इनहलेसन इन्जुरीसमेत देखिएको छ ।
चिकित्सक र संघसंस्थाको चिन्ता
नेपाल चिकित्सक संघले आन्दोलनका क्रममा स्वास्थ्यकर्मी र अस्पताल परिसरमा समेत सुरक्षा चुनौती बढेकोमा चिन्ता व्यक्त गरेको छ । संघले घाइतेहरूको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई अवरोध नगर्न, एम्बुलेन्स र आपतकालीन सेवामा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको थियो ।
यसैबीच, काठमाडौं महानगरपालिकाले घाइतेहरूको उपचारमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । महानगरले विभिन्न अस्पतालमा खाना, रगत र आवश्यक सहयोगका लागि स्वयंसेवक खटाइएको जनाएको छ ।
उपत्यकामा भएको हिंसात्मक आन्दोलनले राजनीतिक मात्र होइन, सामाजिक र स्वास्थ्य क्षेत्रमै ठूलो संकट निम्त्याएको छ । जलनका २५ जना घाइतेमध्ये धेरैले सामान्य उपचार पाए पनि पूर्वप्रधानमन्त्रीकी पत्नी रविलक्ष्मी चित्रकारको अवस्था अझै गम्भीर छ । कीर्तिपुर बर्न सेन्टरमा निरन्तर उपचार भइरहेको छ भने अन्य घाइतेलाई आवश्यक सहयोगका लागि विभिन्न पक्ष सक्रिय भएका छन् ।
देशैभरिका घाइतेहरूको तथ्यांक केलाउँदा झन्डै ६ सयको हाराहारीमा पुगेका छन् । उनीहरूको निःशुल्क उपचार गर्न सरकारी अस्पतालहरू सक्रिय भएका छन् । काठमाडौं उपत्यकामा नर्भिक अस्पताल, एभरेस्ट अस्पताल, मोडल अस्पताललगायतका सामुदायिक र केही निजी अस्पतालहरूले पनि घाइतेको उपचार गरेका छन् । घाइतेहरूमा सर्वसाधारण मात्र नभई सुरक्षाकर्मी पनि रहेका छन् । पहिलो दिन १९ जनालाई गोली लागी ज्यान गएको थियो भने दोस्रो दिन आक्रोशित भीडले प्रहरी कार्यालय, घरघरमा आगजनी गर्दा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार पनि धादिङ जेलबाट कैदीबन्दी जेलमा आगजनी गराएर भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर १ जनाको मृत्यु भएको छ । घाइते र मृतकको संख्या अझै यकिन भइसकेको छैन ।











प्रतिक्रिया