इन्द्रजात्रा, जसलाई नेपाल भाषामा “येंया” भनेर चिनिन्छ, काठमाडौंको सबैभन्दा ठूलो र सांस्कृतिक पर्व मध्येको एक हो । नेपाल भाषामा “यें” भनेको काठमाडौं र “या” भनेको पर्व हो । जसको अर्थ “काठमाडौँको पर्व” हुन्छ । प्रायजसो विक्रम सम्वत् पात्रोको भदौ महिनामा एक सातासम्म धूमधामका साथ मनाइने यो प्राचीन पर्व कृतज्ञता, सम्झना र सामुदायिक एकताको प्रतीक हो । यो मुख्य रूपमा काठमाडौंका नेवार समुदायले मनाउने गर्दछ । किंवदन्तीअनुसार इन्द्रजात्रा पर्व वर्षाका देवता र स्वर्गका राजा कहलिने इन्द्र र उनकी आमा “दागिनी” को सम्मानमा मनाइन्छ । जसले राम्रो बालीको लागि आशीर्वाद दिएको विश्वास गरिन्छ । साथै, अघिल्लो वर्ष दिवंगत भएका आत्माहरूको सम्झनामा पनि यो पर्व मनाइन्छ । यो उत्सवको समापन काठमाडौं दरबार स्क्वायरमा हुने एक विशेष धार्मिक अनुष्ठीसँग हुन्छ, जसमा जात्राको पहिलो दिन गाडिएको योंसी ढालेर नदीमा विसर्जन गरेपछि विधिवत समापन भएको मानिन्छ ।
उत्पत्ति र किंवदन्ती
इन्द्रजात्राको सुरुवात १०औँ शताब्दीमा राजा गुणकामदेवले काठमाडौं शहरको स्थापनाको सम्झनाका प्रतीकस्वरूप गरेको मानिन्छ । पछि, १८औँ शताब्दीको मध्यतिर राजा जयप्रकाश मल्लले जीवित देवीको सम्मानमा कुमारी जात्रा शुरू गरेका हुन, जसले उत्सवमा आध्यात्मिक र भव्यता थपियो । एक किंवदन्तीअनुसार, इन्द्र आफ्नो आमाको लागि दुर्लभ फूल पारिजात लिन काठमाडौं उपत्यकामा आएका थिए । तर, उनलाई चोरी गरेको आरोपमा स्थानीयले समाते । छोरा हराएको थाहा पाएपछि उनकी आमा “दागिनी” पृथ्वीमा अवतरित भइन् र इन्द्रको पहिचान खुलाइन् । सत्य उजागर भएपछि, स्थानीयहरूले दुई शर्तमा इन्द्रलाई मुक्त गरे । पहिलो, मृत आत्माहरूलाई स्वर्ग पु¥याउने र दोस्रो, हिउँदमा प्रशस्त शीत (ओस) दिई राम्रो बाली सुनिश्चित गर्ने । यही वाचा आजसम्म इन्द्रजात्राको मूल कारण बनेको छ ।
जात्राको मुख्य आकर्षण र परम्परा
इन्द्रजात्राको आरम्भ द्वादशीका दिन लायकू अर्थात् हनुमानढोका दरबार स्क्वायरमा काभ्रे जिल्लाको नाला वनबाट तानेर ल्याइएको करिब १० मिटर अग्लो “योसीं” ठड्याएर गरिन्छ । इन्द्रजात्राको प्रतीकको रूपमा हनुमानढोकामा जात्रा अवधिभर ठड्याइने उक्त योसीं विशेष विधिअनुसार चयन गरिएको रुख काटेर बनाइन्छ । सोही दिन शोकाकुल परिवारहरूले आफ्ना दिवंगत आफन्तहरूको सम्झनामा मन्दिरहरूमा बत्ती बाल्दै “उपाकु” पैदलयात्रा गर्छन् । उपाकु काठमाडौंका प्राचीन बस्तीहरू धूपबत्तीसहित परिक्रमा गरिने एक धार्मिक यात्रा हो, जसमा विभिन्न मन्दिर र देवस्थलहरूमा दीप प्रज्वलन गरिन्छ । मार्गभरि स्थानीय समुदायहरूले “समे बजी” प्रदर्शन गर्छन् । जसलाई आकाश, वायु, जल, अग्नि र पृथ्वी गरी पाँच तत्वहरूको प्रतिनिधित्व गर्ने परिकारहरूको समिश्रणको रूपमा लिइन्छ । उक्त साँझ बत्ती र प्रार्थनाले काठमाडौंको पुरानो बस्ती झकिझकाउ तथा वातावरण भावुक र भक्तिपूर्ण बन्छ ।
जात्राको अर्को प्रमुख विशेषता भनेको भैरव गण सार्वजनिक गरिनु हो । विशेषगरी हनुमानढोकास्थित श्वेत भैरवको विशाल र डरलाग्दो मुखौटा इन्द्रजात्रा अवधिभर खुला गरिन्छ । इन्द्रजात्रा अवधिभर रात्रिकालमा श्वेत भैरवको मुखबाट प्रसादस्वरूप जाँडरक्सी बगाउने प्रचलन रहेको छ । नेपाल भाषामा “हाथा हायेकेगु” भनेर सम्बोधन गरिने उक्त पवित्र जाँडरक्सी पिउनाले स्वास्थ्य लाभ हुने जनविश्वास रहेको छ । उक्त जल पिउन श्रद्धालुहरू तछाडमंछाड गरेर एकअर्काको जिउमा चढ्ने गर्दछ । यसै दिन काठमाडौंको इन्द्रचोक (वंघः) मा रहेको आकाश भैरवको मूर्तिलाई पनि जात्रा अवधिभर विभिन्न फूलमालासहित सजाएर मन्दिर बाहिर राखिन्छ । यसै दिनदेखि वसन्तपुरको कुमारी घर अगाडि रहेको त्रैलोक्य मोहन नारायण मन्दिरमा पौराणिक कथामा आधारित “दश अवतार” को नाट्य शैलीको झाँकी पनि देखाउन शुरू गरिन्छ ।
दुर्लभ दैवी यात्रा
इन्द्रजात्राको सबैभन्दा मनमोहक पक्ष भनेको जीवित देवी कुमारीको रथ यात्रा हो । जसमा तीन तल्ले सुनको गजुरसहितको रथमा कुमारी र अन्य एक गजुरसहितको सानो आकारका रथमा गणेश र भैरवको रूप धारण गरेका दुई बालकहरूलाई विधिवत राखेर तीन दिनसम्म काठमाडौंको प्राचीन बस्तीको विभिन्न स्थानमा परिक्रमा गराइन्छ । हरेक दिन प्राचीन काठमाडौंको मरुहिटी क्षेत्रबाट शुरू हुने रथ यात्रा सोही ठाउँमा आएर टुंगिन्छ । त्यसक्रममा पहिलो दिन क्वहिटी क्षेत्र अर्थात “क्वःने” र दोस्रो दिन अर्थात येयां पुन्ही (पूर्णिमा) “समे बजी” खाने दिनको रूपमा मानिने यस दिन थँहिटी क्षेत्र नजिक “थःने” मा रथयात्रा गरिन्छ ।
त्यसपछि तीन दिनको विश्रामपछि अन्तिम दिन नानीचाः या अर्थात् किलागलबाट भेडासिं (भ्याचा द्यो) हुँदै वसन्तपुर कुमारी घर अगाडि रथ पु¥याएपछि जात्राको समापन गरिन्छ । केही वर्षयता अन्तिम दिनमा महिलाहरूलाई पनि सहज रूपमा रथ तान्ने अवसर प्राप्त हुँदै आएको छ । अत्यधिक भीड बढेको अवस्थामा भने रथ यात्रालाई सहज बनाउन रथको अघिल्तिर पुलुकिसी र लाखेले आ–आफ्नो नृत्य प्रदर्शन गर्ने गर्दछ । रथयात्रा गद्दी बैठकमा नेपालको राष्ट्र प्रमुखले कुमारीलाई असर्फी वा सुनको मोहर चढाएपछि मात्र प्रारम्भ गरिन्छ । उक्त अवसरमा अन्य उच्च पदाधिकारी, सैनिक र कूटनीतिक पाहुनाहरूको उपस्थिति हुने गर्दछ ।
इन्द्रजात्राको अन्तिम दिन अर्थात् नानीचा याः मा योसीं विधिपूर्वक ढालेर बागमती नदीमा लगेर विसर्जन गरिन्छ । अन्तिम दिन राष्ट्रप्रमुख लगायत सर्वसाधारणहरूले जीवित देवी कुमारीको हातबाट टीका थाप्ने परम्परा रहिआएको छ । यो प्रतीकात्मक क्रियाले उत्सवको समापन मात्रै होइन, देवता र मानवबीचको आध्यात्मिक सम्बन्धलाई पनि मजबुत बनाएको छ । देवीदेवता नृत्यहरू, विष्णुको दश अवतार नाट्यरूपमा प्रदर्शन, लाखे नाच, सवा भक्कु नाच, भैरवगण नाच, बाँस र कपडाद्वारा निर्मित विधिपूर्वक पूजाआजासहित निकालिने ऐरावत हात्ती “पुलु किसी” नाच, अनि कुमारी, गणेश र भैरवको रथ यात्रा, यी सबैले इन्द्रजात्रालाई एक अद्वितीय सांस्कृतिक पर्व बनाएको छ ।
दागीं देवीको यात्रा
पहिलो दिनको कुमारीको रथ यात्रा सम्पन्न भई बसन्तपुर फर्किएपछि, सोही दिन इन्द्रको आमाको प्रतीक मानिने “दागीं” देवीको यात्रा शुरू गरिन्छ । धार्मिक परम्परासार विशेष पूजा विधिपछि दैवी शक्ति समाहित गरिएको मुखौटा धारण गरिएका, सेतो वस्त्रधारी एक व्यक्तिलाई दागींको प्रतीकका रूपमा मानिन्छ । केही सहयोगीहरूले दागींको हात समातेर हिँडाएर प्राचीन काठमाडौं सहरको परिक्रमा गराउँछन् । यो यात्रा इन्द्रलाई खोज्दै आमा नगरभरि डुलिरहेकी प्राचीन किंवदन्तीसँग सम्बन्धित छ । दागींको पछिपछि बाजागाजासहितको समूह र सो वर्ष दिवंगत भएका परिवारका सदस्यहरू पनि धान छर्दै सहभागी हुन्छन् । सो यात्रा मरु चोकको दक्षिण–पश्चिम कुनास्थित गल्लीबाट शुरू भई काष्ठमण्डपको पश्चिम भाग हुँदै अगाडि बढ्छ र नगर परिक्रमा गरी फेरि सोही स्थानमा पुगेर टुंगिन्छ ।
इन्द्रजात्राको पर्यटकीय महत्व
पर्यटकहरूका लागि इन्द्रजात्रा नेपालको जीवित संस्कृति, आध्यात्मिक गहिराइ र सामुदायिक ऊर्जा नजिकबाट अनुभव गर्ने एक अनुपम अवसर हो । यो अवसरमा फोटोग्राफर, सांस्कृतिक प्रेमी र आध्यात्मिक यात्रु सबैले एक अनुपम आनन्द अनुभव गर्छन् । किंवदन्ती, अनुष्ठान र प्रदर्शनको अद्वितीय संयोजन भएको यो पर्व केवल एक उत्सव मात्र होइन, काठमाडौंभित्र लुकेको अलौकिक आत्माको जीवित अभिव्यक्ति पनि हो । विश्वमाझ नेपाली सभ्यता, समाज, कलासंस्कृतिलाई चिनाउने यो एउटा असाधारण पर्व हो । नेपालमा विदेशी पर्यटक भित्रिन शुरू गरेयता जीवित देवी कुमारीको दुर्लभ किंवदन्ती संसारको कुनाकुनामा चर्चाको विषय बन्दै आएको छ ।
विदेशमा पनि मनाइन्छ
समय बदलिँदै जाँदा यो पर्वले पनि आधुनिकतासँगै वैश्विक रूप लिन थालेको छ । तर, यसको मौलिकता र मर्म आज पनि उस्तै जीवन्त छ । अचेल प्रवासमा रहेका नेपालीहरूले पनि नेपालको अमूल्य सांस्कृतिक प्रतीकको रूपमा रहेको इन्द्रजात्रा मनाउन थालेका छन् । केही वर्षयता अस्ट्रेलियामा छरिएका विभिन्न नेवाः गुठी संस्थाहरूले इन्द्रजात्रालगायत नेपाल र नेवा संस्कृतिको समृद्धि झल्किने अन्य सांस्कृतिक कार्यक्रमहरू उत्साहपूर्वक मनाउने गरेका छन् । एडिलेड, मेलबर्न र पर्थजस्ता प्रमुख शहरहरूमा परम्परागत उत्सवहरू आयोजना गर्छन्, जसमा कुमारी रथयात्रा, लाखे र पुलुंकिसी नाच, नेवा सांस्कृतिक प्रस्तुति र परम्परागत नेवारी खानाका विशेष स्वादहरू पस्किंदै आएका छन् ।
यस्ता कार्यक्रमहरूले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली तथा नेवाः समुदायलाई एकत्रित मात्र नभएर, सांस्कृतिक पहिचानलाई समेत नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने र बाह्य समुदायमा प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएका छन् । अस्ट्रेलियाबाहेक भारतको सिक्किममा रहेका नेवार समुदायहरूले पनि इन्द्रजात्राको आत्मा जगेर्ना गर्दै आफ्नो स्थानीय परिवेशअनुसार परम्परालाई जोगाइरहेका छन् । यस्ता व्यापक उत्सवहरूले विश्वभर फैलिएको नेपाली प्रवासी समुदायले जहाँ भए पनि आफ्नो सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न र सजीव राख्न गरेको साझा प्रयास प्रेरणादायी छ ।











प्रतिक्रिया