काठमाडौँ ।
राजधानी उपत्यका पूर्णरुपमा आन्दोलनकारीको नियन्त्रणमा गएको छ। मंगलबार दिनभर आन्दोलनकारीहरूले विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र सरकारविरुद्ध उग्र प्रदर्शन गरेपछि सुरक्षा संयन्त्र पूरै असक्षम बनेको देखिएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका सडकहरूमा आन्दोलनकारीको भीड हावी देखिएको छ। आक्रोशित भीडले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूको निजी तथा सरकारी निवासमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन्। सिंहदरबार र शीतलनिवास वरिपरि मात्र कडा सुरक्षा देखिए पनि अन्य क्षेत्र भने आन्दोलनकारीले कब्जा गरेको जस्तो दृश्य बनेको छ।
सुरक्षा निकायको उपस्थिति अत्यन्त न्यून भएको र कतिपय ठाउँमा प्रहरी नै भागेको दृश्य प्रत्यक्षदर्शीहरूले बताएका छन्। सडकमा प्रहरी वा सेनाको कुनै प्रभावशाली उपस्थिति नदेखिँदा आन्दोलनकारी झन् उग्र बन्दै गएका छन्। आन्दोलनकारीले मन्त्रालय, जिल्ला प्रशासन कार्यालयदेखि प्रदेश सरकारका सम्पूर्ण कार्यालयहरूलाई निसाना बनाएका छन्। सरकारी सवारी साधन, भवन र सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ।
यसैबीच, नेपाली सेनाले समेत स्थिति नियन्त्रणमा लिन नसकेको खुलेको छ। सेनापति र उच्चस्तरीय सैनिक अधिकारीहरू अहिले सैनिक मुख्यालय भद्रकालीमा आपतकालीन बैठकमा बसिरहेको सैनिक सूत्रले जनाएको छ। तर सडकमा भने सेनाको उपस्थिति देखिएको छैन। सेनाले आक्रमणकारी भिडसँग प्रत्यक्ष भिड्ने कि नभिड्ने भन्ने विषयमा समेत गम्भीर द्विविधा भएको बताइएको छ।
विश्लेषकहरूले अहिलेको अवस्था सामान्य आन्दोलनको सीमा नाघेर ‘व्यवस्था नै धराशायी हुने संकेत’ देखाएको बताएका छन्। १९ जनाको ज्यान गएको घटनापछि सुरु भएको आक्रोश मंगलबार झनै उग्र बन्दै गएको छ। राजधानी मात्र नभई देशका प्रमुख सहरहरूमा पनि सरकारी संरचनामाथि आक्रमण बढ्दै गएको खबर आएको छ।
यता, सरकारले भने अझैसम्म स्पष्ट रणनीति सार्वजनिक गर्न सकेको छैन। मन्त्रिपरिषद्को आपतकालीन बैठक बसिरहेको जानकारी भए पनि निर्णय के हुनेछ भन्ने स्पष्ट हुन सकेको छैन। आन्दोलनकारीलाई नियन्त्रणमा लिन सकिने कुनै संयन्त्र सक्रिय नभएको जनाइएको छ।
राजधानीमा देखिएको अराजक दृश्यसँगै सर्वसाधारण त्रासमा परेका छन्। घरबाहिर निस्कन नसक्ने, अत्यावश्यक सेवामा ठप्पजस्तो स्थिति बनेको छ। बजारहरू बन्द छन् भने अस्पतालसम्म जान पनि कठिनाइ भएको नागरिकको गुनासो छ।
यसरी, उपत्यका पूर्ण रुपमा आन्दोलनकारीको नियन्त्रणमा पुगेपछि मुलुक गम्भीर अनिश्चिततामा धकेलिएको छ। अब सेनाले हस्तक्षेप गर्छ कि सरकार वार्ता प्रक्रियामा जान्छ भन्ने विषयले आगामी अवस्थालाई निर्णायक बनाउने देखिन्छ।











प्रतिक्रिया