नेपालको जेन्जी आन्दोलनप्रति भारतको गहिरो चासो, संयम र संवादको आह्वान


काठमाडौँ ।

नेपालमा जेन्जी आन्दोलनका कारण सिर्जित ताजा घटनाक्रमप्रति भारतले गहिरो चासो प्रकट गरेको छ। भारतीय विदेश मन्त्रालयले सोमबार राति विज्ञप्ति जारी गर्दै आन्दोलनमा परी ज्यान गुमाएका युवाप्रति गहिरो दुस्ख व्यक्त गरेको र मृतकका परिवारजनलाई हार्दिक संवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरिएको छ।

विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “नेपाल हाम्रो नजिकको छिमेकी मात्र होइन, ऐतिहासिक, सांस्कृतिक र पारस्परिक सम्बन्धले आबद्ध मित्र राष्ट्र हो। पछिल्ला दिनमा भएको घटनाले गम्भीर चिन्ता जगाएको छ। नेपालमा शान्ति, स्थिरता र लोकतान्त्रिक प्रक्रियाको मजबुती हाम्रो साझा चासो हो।”

भारतले आन्दोलनमा भएको हिंसात्मक गतिविधि, ज्यानमरणको अवस्था र सरकारी संरचनामाथि भएको आक्रमणलाई ध्यानाकर्षण गराउँदै सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हिंसाबाट कुनैपनि समस्या समाधान हुँदैन। वार्ता र संवाद नै स्थायी समाधानको बाटो हो।”

भारतले नेपाल सरकारलाई तत्काल वार्ता प्रक्रियामा जोड दिन आग्रह गर्दै आन्दोलनकारीहरूसमेतलाई लोकतान्त्रिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। भारतले नेपालमा अहिले जारी कफ्र्यू र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालमा रहेका भारतीय नागरिकलाई विशेष सतर्क रहन भनेको छ। साथै नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।

यसैबीच, भारतीय सञ्चारमाध्यमहरूले नेपालमा भइरहेको आन्दोलनलाई ठूलो राजनीतिक र सामाजिक चुनौतीको रूपमा चित्रण गरेका छन्। काठमाडौँलगायत प्रमुख सहरहरूमा फैलिएको असन्तोषले भारतमा पनि चासो बढाएको देखिन्छ।

भारतीय विश्लेषकहरूले नेपालमा हिंसात्मक आन्दोलन दीर्घकालीन अस्थिरतामा रूपान्तरित भए त्यसको प्रभाव दक्षिण एसियाली क्षेत्रमा पर्न सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार भारत र नेपालको सीमा खुलेको र सामाजिक–सांस्कृतिक सम्बन्ध बलियो भएकाले नेपालको अस्थिरता भारतको सुरक्षा र अर्थतन्त्रमा समेत असर पार्न सक्छ।

भारतले आफ्नो विज्ञप्तिमा पुनः जोड दिएको छ— नेपालमा शान्ति र स्थिरता कायम रहनु मात्र नेपाली जनताको लागि होइन, भारतसहित सम्पूर्ण क्षेत्रकै लागि हितकर छ।

यसरी हेर्दा, नेपालमा भइरहेको जेन्जी आन्दोलन केवल आन्तरिक राजनीतिक संकटमा सीमित नभई क्षेत्रीय चासोको विषयसमेत बनेको छ। भारतको आधिकारिक प्रतिक्रिया त्यसैको प्रमाण हो।