विद्यार्थीमाथि गोलीकाण्ड : डा. शेखर कोईरालाद्वारा सरकारको कडा भर्त्सना


काठमाडौं।

हालै सरकारद्वारा प्रदर्शनरत विद्यार्थीहरूमाथि भएको गोली प्रहारको घटनापछि कांग्रेस नेता डा. शेखर कोईरालाले उक्त कदमको कडा निन्दा गरेका छन्। उनले उक्त आक्रमणलाई सभ्य समाजमा कल्पनै गर्न नसकिने घटनाको संज्ञा दिएका छन्।

डा. कोईरालाले एक वक्तव्य जारी गर्दै भने, “हातमा किताब कापी बोकेका कलिला विद्यार्थीमाथि बर्बर ढंगले गोली चलाइएको छ, जुन अमानवीय र निन्दनीय छ।” उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

उनले विद्यार्थीहरूका मागलाई “समय सापेक्ष र जायज” भन्दै समर्थन जनाए। साथै, सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई अधिनायकवादी प्रवृत्तिको संज्ञा दिँदै वर्तमान सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरे।

“देशवाट भ्रष्टाचार निर्मूल हुनैपर्छ, र हामी सबै मिलेर विधिसम्मत समाधान खोज्नुपर्छ,” डा. कोईरालाले भने।