अ‍ैंचो पैंचो सहकारीको ३७औं वार्षिकोत्सव सम्पन्न, ८% लाभांश वितरण गर्ने निर्णय


काठमाडौँ
अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३७औं वार्षिकोत्सव तथा ३२औं वार्षिक साधारण सभा शनिबार काठमाडौंको कालिमाटी बैंक्वेटमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष दयाराम प्रजापतिको सभापतित्व तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विद्यावारिधि प्राप्त सदस्य, जेष्ठ नागरिक सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य तथा एस.ई.ई. बाल बचतकर्तालाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख अतिथि क्षेत्रीले सहकारीमा देखिएका समस्या लोभ, लालच र छिटो कमाउने प्रवृत्तिका कारण आएको बताउँदै “संचालक इमान्दार भए सहकारीमा समस्या आउँदैन” भन्ने विचार व्यक्त गर्नुभयो । उनले अ‍ैंचो पैंचोमा ५४ प्रतिशतभन्दा बढी महिला सदस्य संलग्न भएको र महिलाको आर्थिक व्यवहारमा इमान्दारिता रहेकाले संस्था दह्रो बनेको उल्लेख गर्नुभयो ।

नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको सहकारी क्षेत्रको समस्या व्यवस्थापनको कमजोरीका कारण भएको भन्दै अ‍ैंचो पैंचो जस्ता पुराना सहकारी संस्था अझै सबल बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उनले सहकारी अभियानलाई सशक्त बनाउन अ‍ैंचो पैंचोले नेतृत्व दिनुपर्ने सुझाव पनि दिनुभयो ।

त्यस्तै, काठमाडौँ महानगरपालिका–१३ का अध्यक्ष ध्रुव नारायण मानन्धरले कार्यक्रमलाई शुभकामना मन्तव्य दिएका थिए । साधारण सभाले शेयर सदस्यलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।