बङ्गलादेशी स्टाफ कलेजका शिक्षार्थीहरूको जङ्गी अड्डा भ्रमण


काठमाडौं।

बङ्गलादेशको मिरपुरस्थित Defence Services Command and Staff College (DSCSC) मा अध्ययनरत शिक्षार्थीहरूले आज भद्रकालीस्थित जङ्गी अड्डाको भ्रमण गरेका छन्।

Defence Services Command and Staff Course (DSCSC)-२०२५ मा सहभागी ५२ सदस्यीय टोली नेपाल आएको हो। मिति २०८२ भदौ २१ गते नेपाल प्रवेश गरेको सो टोलीले नेपाली सेनाबारे जानकारी लिनेक्रममा जङ्गी अड्डा पुगेको हो। भ्रमणका क्रममा टोलीलाई नेपाली सेनाको संगठनात्मक संरचना, दायित्व तथा पछिल्ला गतिविधिबारे जानकारी दिइएको नेपाली सेनाले जनाएको छ।

नेपालमा ७ दिने अध्ययन भ्रमणमा आएको उक्त टोलीले काठमाडौँका ऐतिहासिक एवं सांस्कृतिक महत्व भएका स्थलहरू तथा अन्य पर्यटकीय गन्तव्यहरूको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

नेपाली सेनाका अनुसार, विभिन्न मित्रराष्ट्रहरूले सञ्चालन गर्ने यस्ता उच्चस्तरीय सैनिक तालिममा सहभागी हुने शिक्षार्थीहरूलाई अन्य मुलुकहरूको अध्ययन भ्रमण गराउने प्रचलन रहँदै आएको छ। यस किसिमको भ्रमणबाट अनुभवको आदानप्रदान, पारस्परिक समझदारी र सैनिक सम्बन्धलाई सुदृढ गर्ने मात्र नभई नेपालकै पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।