राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थद्वारा अवलोकन
काठमाडौं ।
जीवित देवी कुमारीको रथयात्रा शनिवारदेखि शुरू भएसँगै वसन्तपुरमा इन्द्रजात्राको रौनक छाएको छ । धार्मिक विधिपूर्वक भाद्र शुल्क द्वादशीका दिनदेखि इन्द्रजात्रा शुरू हुने भए पनि जीवित देवी कुमारी एवं जीवित देव गणेश र भैरव रथयात्रा शुरू भएसँगै जनसमुदायमा इन्द्रजात्राको रौनक छाउने गर्दछ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी यस जात्रा शुरू भएको हो । इन्द्र ध्वज ठड्याउनुलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ । यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ । हिजोको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठकअगाडि जीवित देवी कुमारी तथा जीवित देव गणेश र भैरवको रथयात्रा रहेको थियो ।
यो परम्परामा विगतमा राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने चलन थियो, अहिले भने राष्ट्रपतिबाट अवलोकन गर्ने प्रथा कायम छ । राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक सरिक भई अपराह्न ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएपछि रथयात्रा गरिएको थियो ।

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको थियो । उहाँलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, संवैधानिक अंगका प्रमुख, संस्कृतिमन्त्री बद्री पाण्डे, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।
परम्पराअनुसार गरिने कुमारी, गणेश र भैरवको पूजाआजा समाप्त गरीे तीनै देवदेवीहरूलाई रथारोहण गराइएको थियो । रथ भक्तजनको लावालस्कर, बाजागाजाका साथ काठमाडौंको भित्री बस्तीको तल्लो टोल चिंकमुलग, जैसिदेवल, ज्याबहाल, लगनटोल, ब्रह्मटोल, कोहिटी आरोलो, भीमसेनस्थान, मरुहिटी हुदै वसन्तपुर पु¥याइएको थियो । काठमाडौंको भित्री बस्तीको तल्लो भागमा रथ तानिने भएको यो दिनलाई क्वःनेया भनिन्छ ।
यस दिन जैसिदेवल, लगन, चिकंमुगः कोहिटी, भीमसेनस्थान क्षेत्रमा ठूलो भीड लागेको थियो भने त्यही क्षेत्रका विभिन्न डबलीमा दीप्याखं देखाइएको थियो । यस दिन लाखे, पुलुकिसिलगायत नाचहरू क्वःनेमै केन्द्रित थियो । श्री कुमारीको रथ तान्दा सबैभन्दा पहिले श्री गणेशको रथ तानिएको थियो । त्यसपछि श्री भैरवको र अन्तिममा श्री कुमारीको रथलाई तानेर लगिएको थियो । कुमारीको रथ अगाडि पञ्चबुद्धका प्रतीकका रूपमा बज्राचार्य गुर्जुहरू पाठ गर्दै रथयात्रामा सहभागी भएका थिए ।
क्वःनेयाः समापन भएसँगै मरु टोलको छुवासपाखाबाट इन्द्रकी आमाको प्रतीकस्वरूप दागिं निकालिएको थियो । दागिं निस्किँदा उक्त वर्ष दिवंगत भएका व्यक्तिका आफन्तहरू उनै दागिंलाई छोएर नगरपरिक्रमा गरेका थिए । दागिंको नगरपरिक्रमा भने काठमाडौंको तल्लो भाग र माथिल्लो भाग –थःने र क्वःने दुवै क्षेत्रमा घुमेर मरु टोलमै पुगेर विर्सजन भएको थियो ।
दागिं नगर परिक्रमा गर्दै गर्दा आधी बाटो पुगेपछि काष्ठमण्डप पछाडिबाट बौमत निकालिएको थियो । नाग आकारमा बनाइएको बाँसको लामो फ्रेममाथि पाल्चामा बालिएको बत्ती राखेर बौमत निकालिएको थियो । यो पनि नगरपरिक्रमा गरी मरुटोलमा पुगेपछि सम्पन्न भएको थियो । विसं १८२५ मा तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले यसैबेला काठमाडौंमा आक्रमण गरेको थियो ।
भदौ २२ गते दिन उत्तरी क्षेत्रको थःने (माथिल्लो टोल) परिक्रमा हुन्छ । अन्तिम दिन अर्थात् भदौं २६ गते विहीबार ‘नानिचाया’ भनेर मध्यभागको इन्द्रचोक, किलागलतिर घुमाइन्छ । यसलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ । काठमाडौंका साँघुरा गल्लीहरूबाट गुड्ने यी रथ, सडकको छेउछाउ सजाइएका समयःबजी, नेवारी परिकार, लाखे र महाकाली नाच, झ्यालिँचाका जोसिला हर्कतले यो पर्वलाई महोत्सवको रूप दिँदै आएको छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा धुमधामका साथ मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि इन्द्र ध्वजासहितको यसिं ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा शुरू हुन्छ । यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ ।











प्रतिक्रिया