बालिका ठक्कर घटना: दुर्घटना अनायास भएको भन्दै पार्टीले सम्पूर्ण उपचार खर्च बेहोर्ने : एमाले अध्यक्ष केपी शर्मा ओली


काठमाडौं ।

शनिबार ललितपुरको हरिसिद्धिमा विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर मगर सवार गाडीले एक बालिकालाई ठक्कर दिएको छ।

घटनापछि बालिकालाई अस्पताल लगिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुर्घटना अनायास भएको भन्दै पार्टीले सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका छन्।

उनले दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भइरहेको आरोपसमेत लगाए।

मन्त्रीको गाडीले ठक्कर दिएकी बालिका अस्पतालबाट डिस्चार्ज

ललितपुरको हरिसिद्धीमा मन्त्री सवार गाडीले ठक्कर दिँदा घाइते भएकी ११ वर्षीया उषा मगर सुनुवार उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। शनिबार बिहान कोशी प्रदेशका मन्त्री हरिबहादुर मगर सवार गाडीले ठक्कर दिएको हो।

बालिकाको गाला र घुँडामा चोट लागेको थियो। घटना भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। छलफलपछि पीडितको सम्पूर्ण उपचार खर्च सरकार र पीडक पक्षले बेहोर्ने सहमति भएको छ।

मन्त्री सवार गाडीले बालिकालाई ठक्कर, नरोकी हुँइकियो

ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर मगर सवार सरकारी गाडीले एक बालिकालाई ठक्कर दिएको छ।

शनिबार बिहान सवा ७ बजे हरिसिद्धी माध्यमिक विद्यालयअगाडि रहेको मुख्य सडकमा को १ झ ६९९ नम्बरको गाडीले जेब्रा क्रसिङ नजिक बाटो काट्न लागेको बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेजमा देखिन्छ।

ठक्करपछि बालिका सडकमै लडेकी थिइन् तर मन्त्री सवार गाडी रोकिएन। पछि एक महिला मोटरसाइकल यात्रुले बालिकालाई उठाएकी थिइन्।