नेपालमा फुटबल भन्नासाथ अझै पनि धेरैको ध्यान पुरुष खेलाडीहरूतिर जान्छ । तर, पछिल्ला वर्षहरूमा केही नामले यो सोचमा चुनौती दिएको छ । तीमध्येका एक नाम हुन, नेपाली महिला फुटबल टिमकी शान, पूर्व कप्तान र मुख्य गोलकिपर एञ्जिला तुम्बापो सुब्बा । सन् १९९७ मा जन्मेकी एञ्जिला सुब्बा कुनै सामान्य नाम होइन । उनी एक सपना देख्ने आँखा, संघर्ष गर्न तयार आत्मा र नेतृत्व गर्ने मुटु हो । उनको कथा केवल खेलकुदको मात्रै होइन्, नेपाली चेलीहरूको सपना पूरा गर्ने एउटा बाटो मार्गदर्शन पनि हो । पाँचथरको त्यो धुलाम्मे मैदान आज पनि त्यहीं छ, तर त्यहाँबाट सुरु भएको एक पात्रले नेपाली फुटबलमा मात्रै होइन, आम महिलाहरूको सोचमा पनि क्रान्ति ल्याएकी छन् ।
धुलाम्मे मैदानबाट युरोपियन स्टेडियमसम्मको यात्रा
पूर्वी नेपालको हरियालीले ढाकिएको पाँचथर जिल्ला, जहाँ बालबालिकाहरू सामान्यतया पढाइ र घरायसी काममै सीमित रहन्छन् । त्यहीँको एउटा धुलाम्मे मैदानबाट सुरु भएको थियो एञ्जिलाको सपना । गाउँका केटाहरूसँगै फुटबल खेलेर सुरु भएको यो यात्रा आज नेपाली राष्ट्रिय टोलीको पहिलो रोजाइदेखि ग्रिसको प्रतिष्ठित क्लब “निस अत्रोमितु” सम्म आइपुगेको छ । एञ्जिला नाम आज नेपाली महिला फुटबलमा मात्र होइन, सम्पूर्ण नेपाली युवतीहरूको हृदयमा आत्मबल र सम्भावनाको पर्याय बनेको छ ।
उनी मैदानमा उत्रिएपछि यस्तो लाग्छ गोलपोस्टसँगै एक दृढ आत्मा पनि उभिएको छ । उनका बलकब्जा क्षमताहरू मात्र होइन, निर्णय क्षणमा टोलीलाई बचाउने साहसिकताले पनि उनलाई टिमको आधार स्तम्भ बनाएको छ । खेलको अन्तिम मिनेटमा जब दर्शकको हृदय धड्किरहेको हुन्छ, त्यही बेला एञ्जिलाको डाइभिङ सेभले टोलीलाई जितको दिशातिर डो¥याइरहेको हुन्छ ।
एञ्जिलाको जीवन केवल फुटबल मैदानमा मात्र सिमित छैन । उनी एक प्रेरणाको पात्र पनि हुन् । जसले सपना छ भने, जुनसुकै कुनाबाट भए पनि त्यो पूरा गर्न सकिन्छ भनेर प्रमाणित गरेर देखाएकी छन् । नेपाली समाजमा अझै खेलकुद क्षेत्र महिलाहरूका लागि सहज छैन । तर, एञ्जिलाले आफ्नो संघर्ष, अनुशासन र आत्मबलले हजारौं युवतीलाई “हरेस खानु हुँदैन” भनेर सन्देश दिएकी छन् ।
रजतपटको हिरोइन ‘एञ्जिला’
एञ्जिलाको संघर्षको कथा यति प्रेरणादायी छ कि त्यो पर्दामा नै उतारिएको छ । चर्चित कलाकार दयाहाङ राई र बुद्धि तामाङको साथ र निर्माता प्रेम श्रेष्ठको अगुवाइमा बनेको चलचित्र ‘एञ्जिला’ ले नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ आयामको थालनी ग¥यो । निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्रले एञ्जिलाको जीवन, चुनौती र सफलता यात्रालाई दर्शकहरूसमक्ष यति प्रभावशाली रूपमा प्रस्तुत ग¥यो कि यो चलचित्र “ब्लकबस्टर हिट” बन्यो । यसले केवल फुटबल प्रेमीहरूलाई मात्रै होइन, आम नेपालीलाई पनि छुन सफल भयो ।
एपीएफको शान
एञ्जिला सशस्त्र प्रहरी बल (एपीएफ) महिला टोलीमा सन् २०१२ देखि आबद्ध छिन् । उनले एपीएफका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । राष्ट्रिय प्रतियोगिताहरूमा उनले टोलीलाई विजयी बनाउँदै घरेलु फुटबलमा आफ्नो दबदबा कायम राखेकी छन् ।

अन्तर्राष्ट्रिय संघर्ष र नेतृत्व यात्रा
उनले सन् २०१४ मा भारतमा आयोजित साफ च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् । त्यसयता एञ्जिला लगातार नेपाली महिला फुटबल टोलीको महत्वपूर्ण सदस्य रहँदै आएकी छन् । सन् २०२५ को एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअघि उनी राष्ट्रिय टिमको नियमित कप्तानको भूमिकामा थिइन् । यद्यपि, उक्त प्रतियोगितामा भने उनले खेल्ने मौका पाइनन् । तर पनि उनले टोलीभित्र भने आफ्नो नेतृत्व र अनुभवबाट योगदान दिइरहिन् ।
घरेलु उपलब्धिहरू :
विजेता – एनसेल कप २०१३
उपविजेता – राष्ट्रिय महिला लिग २०१३
तेस्रो स्थान – प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०१४
विजेता – सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०१९
अन्तर्राष्ट्रिय उपलब्धिहरू :
विजेता – यू–१४ एएफसी क्षेत्रीय च्याम्पियनसिप २०१४
उपविजेता – साफ च्याम्पियनसिप २०१४, २०१६, २०१९
उपविजेता – हिरो गोल्ड कप २०१९
उपविजेता – नजादा कप २०१९
उपविजेता – १३औं दक्षिण एसियाली खेलकुद (साग) २०१९











प्रतिक्रिया