घुससहित नायब सुब्बा अख्तियारको नियन्त्रणमा


काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस मागेका थिए। आयोगको बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

धमलालाई १२ हजार रुपैयाँसहित नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित यातायात चोकबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।