झुम्का कारागारमा चार दिनमै चार कैदीको मृत्यु


सुनसरी ।

सुनसरीस्थित झुम्का कारागारमा चार दिनको अवधिमा चार कैदीको मृत्यु भएको छ। उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षण देखिएका कैदीहरूलाई अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको हो।

बुधवार दिउँसो बेहोस भएका सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका यादवको उपचारकै क्रममा साँझ मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

त्यसैगरी बुधवार बिहानै भोजपुर हतुवागढी–८ का २८ वर्षीय विकास राईको इनरुवा अस्पतालमा मृत्यु भएको हो। लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका राईलाई अचानक बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो।

यसअघि सोमबार सुनसरी गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरान–१० का २४ वर्षीय सागर राईको मृत्यु भइसकेको थियो। उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।

चार दिनमै चार कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले तत्काल स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बुधवार रातिदेखि सञ्चालन भएको शिविरमा बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भइसकेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले जानकारी दिए।

हाल झुम्का कारागारका ए र बी गरी दुई ब्लकमा १ हजार ७९४ कैदी रहेका छन्। स्वास्थ्य परीक्षणपछि मात्र मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।