खोटाङ ।
भदौ–१९, सडक अवरोध गरी सुमो चालकलाई भरुवा बन्दुक ताक्ने नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईबिरुद्ध डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई अवरोध गरी चालक सविन तामाङमाथि बन्दुक ताकेको आरोपमा राईबिरुद्ध मुद्धा दर्ता भएको हो ।
भदौ–१६ गते बिहान आफ्नै घर अगाडि बाँस तथा काठका मुढा राखी सुमो रोक्दै चालक तामाङलाई बन्दुक ताकेको आरोपमा बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दर्ता भएको जनाईएको छ । आफूहरुले दिक्तेल–खार्मी सडक मर्मत गरेको भन्दै जबरजस्ती सहयोग रकम माग गरी ज्यान मार्ने प्रयास गरेकाले कानूनी कारबाहीको माग सहित मुद्धा दर्ता गराएको चालक तामाङले बताउनुभएको छ ।
चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीकामाया राई लगायतले खोसेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताउनुभएको छ । नेता राईले भदौ–१५ गते आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको चालक तामाङले आरोप लगाउनुभएको छ ।
नेता राईको अवरोधकाबीच आइतबार काठमाडौँ जाने यात्रुलाई समयमै दिक्तेल पु¥याउनुपर्ने भएकाले सुमो भगाएर गाउँ पार गराएको चालक तामाङले बताउनुभएको छ । नेता राईले भदौ–१५ गते अर्का सुमो चालक जीवन कार्कीबाट तीन हजार रुपैंयाँ रकम असुलेको यातायात व्यवसायीहरुले बताएका छन् । चालक तामाङकै पछि–पछि गुडिरहेको ना १ ज ८१६९ नम्बरको सुमो चालक कार्कीबाट नेता राईले आफ्नै घर अगाडि रोकेर रकम लिएको बुझिएको छ ।
घटना लगत्तै चालक तामाङले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियो क्लिप्ससहित आफूहरुलाई खबर गर्नुभएको प्रहरीले जनाएको छ । घटनास्थल अर्थात् नेता राईको घरमा टोली पुग्दा घरमा ताला लगाइएको पाइएको प्रहरी चौकीका प्रमुख वरिष्ठ हवल्दार बिन्द्रबहादुर नेपालीले जानकारी दिनुभएको छ ।
खार्मीमा भएको घटनाका आरोपित काँग्रेस नेता राईबिरुद्ध डाँडा उद्योग सम्बन्धी कसूरमा मुद्धा दर्ता गरेर पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढोथोकीले बताउनुभएको छ । मुद्धा दर्ता हुनुअघि नै घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी टोली परिचालन गरेर नेता राई दम्पतीको खोजि कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा बुझ्न नेता राईलाई सम्पर्क गर्दा उहाँले प्रयोग गर्दै आउनुभएको मोबाइल स्वीच अफ रहेको पाइएको छ ।
खार्मीस्थित जालपा आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका राईलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायी संघ÷संस्थाले माग गरेका छन् । यातायात व्यवसायी संघ÷संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् ।
नेता राईबिरुद्ध दर्ता भएको मुद्धामा दोषी ठहर भएको खण्डमा पाँच वर्षदेखि दश वर्षसम्म कैद सजाय तथा ५० हजारदेखि एक लाख रुपैंयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहित २०७४ को दफा २४४ मा उल्लेख । नेता राईबिरुद्ध हातहतियार तथा खरखजना सम्बन्धीसमेत मुद्धा चल्ने प्रहरीले जनाएको छ ।











प्रतिक्रिया