चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता


काठमाडौं ।

चीनले बुधबार बेइजिङमा प्रदर्शन गरेको विजय दिवस परेडमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राती नै स्वदेश फर्कनुभएको छ । चीनको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन गत शनिवार चीन पुग्नुभएका प्रधानमन्त्री ओली चीनको पाँच दिने भ्रमण सकेर बुधबार राती स्वदेश फर्कनुभएको हो ।

उहाँले चीन भ्रमणको अन्तिम दिन बेइजिङमा भएको हालसम्मकै सबैभन्दा ठूलो विजय दिवस परेडमा सहभागिता जनाउनुभएको थियो ।

उहाँले तियानजिनमा आयोजित एससीओ शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउँदै सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा उहाँले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग लिपुलेक नेपाली भूभाग भएकाले लिपुलेकमा चीन र भारतबीच हालै भएको व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने सहमति आपत्तिजनक रहेको बताउनुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार तियानजिनस्थित चिनियाँ अतिथि गृहमा भएको द्विपक्षीय भेटका क्रममा उहाँले राष्ट्रपति सीलाई सन् १८१६ मा भएको सुगौली सन्धिको महत्व स्मरण गराउँदै महाकालीपूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको भएको स्पष्ट पार्नुभएको थियो ।

चीन भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान जेनसँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यसै गरी उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओका प्रधानमन्त्री सोनेसाई सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि भेट गर्नुभएको थियो ।