अयोग्य दशरथ रंगशालामा दुई मैत्री खेल


काठमाडौं।

एसियाली फुटबल महासंघ (एएफसी) ले अयोग्य भनिएको दशरथ रंगशालामा दुई मैत्री अन्तर्राष्ट्रिय खेल हुने भएको छ । आउँदो भदौ २१ गते शनिबार र २४ गते मंगलबार दुई दिन नेपाल र बंगलादेशबिचको मैत्री खेल आयोजना हुन लागेको हो । यसका लागि एन्फाले सबै तयारी पूरा गरिसकेको पनि जानकारी गराएको छ । एन्फा स्वयमले टिकट विक्री गर्ने जिम्मा लिएको छ । एन्फाले भीआईपी प्यारापिटका लागि १ हजार र साधारण प्यारापिटका लागि ५ सय रकम टिकट मूल्य तोकिएको छ ।

एएफसीले त अन्तर्राष्ट्रिय फुटबल नेपालमा गराउन आनाकानी गरिरहेकै छ । अहिले फिफाको आधिकारिक खेल यही रंगशालामा खेलाउन लागेको छ । जे भएपनि लामो समयपछि पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेल दशरथ रंगशालामा हुन लागेको छ । यो नेपाली फुटबल समर्थकको लागि खुशी कै कुरा हो । पछिल्लो पटक दशरथ रंगशालामा खेलिएको अन्तर्राष्ट्रिय खेल १७ नोभेम्बर २०२३ मा थियो । यो फिफा विश्वकप २०२६ छनोटअन्तर्गत खेल यमनविरुद्धको थियो ।
दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भनेको अवस्था छ । एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधित्व टोलीले निरीक्षण गरेपछि रंगशाला खेल खेलाउन अयोग्य रहेको निष्कर्ष निकालेको हो । यसले गर्दा एएफसी एसियन कप छनोटअन्तर्गत भियतनाम र मलेसियाविरुद्धको होम खेल अवेमा खेल्नु पर्ने भएको छ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको रंगशालामा हेर्ने हो भने काठमाडौंस्थित दशरथ रंगशाला नै हो । काठमाडौंबाहिरका कुनै पनि रंगशाला अन्तर्राष्ट्रियस्तरको बनाउन नसक्नु पनि नेपाली फुटबलको लागि दुर्भाग्य बनेको छ । दशरथ रंगशाला अयोग्य ठहराउँदा काठमाडौंबाहिर रहेका जस्तै, पोखराकै रंगशालामा पनि अन्तर्राष्ट्रिय खेल खेलाउन सकिन्छ । तर, के गर्ने सम्बन्धित निकायले यसतिर ध्यान दिएन । यसले गर्दा एएफसी पुरुष एसियन कपको छनोट चरणका खेल नेपालबाहिर खेल्नु पर्ने स्थिति निस्केको हो ।