आदिवासी जनजातिको ज्ञानसम्बन्धी निर्माण कार्य शुरू


काठमाडौं ।

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले ज्ञानकोष निर्माणसम्बन्धी दीर्घकालीन महत्वको बृहत् परियोजना अघि बढाएको छ ।

नेपालको कुल जनसंख्याको झण्डै एक तिहाइ हिस्सा ओगटेका आदिवासी जनजातिको मौलिक ज्ञान, भाषा, संस्कृति र इतिहास संरक्षणसहित संविधान र कानुनबमोजिम अब गर्नुपर्ने कार्यहरूको दिशानिर्देशनका लागि सो परियोजना शुरू गरेको प्रतिष्ठानले जनाएको छ ।

नेपालका आदिवासी जनजाति ज्ञानकोष भाग–१ प्रकाशन गरी प्रतिष्ठानले सो कार्य अघि बढाएको छ । परियोजनाअन्तर्गत विश्वविद्यालय तथ्यांकशास्त्र विभागको सहयोगमा २०७८ सालको जनगणनाका आधारमा आदिवासी जनजातिहरूको जनसंख्या र बसोबास, नेपालका भाषा समूहबारे छुट्टाछ्ुट्टै नक्साकंन प्रकाशन गरेको छ । यसबाट नीति निर्माणमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ । साथै, यी तथ्यांकहरूबाट आदिवासी जनजातिको जनसंख्या, थातथलो र भाषिक विविधताबारे सहजै बुझ्न सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको महत्वाकांक्षी कार्यका रूपमा लिइएको ज्ञानकोषको सम्पूर्ण कार्य चार वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको उपाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत वार्षिक रूपमा नेपालका आदिवासी जनजातिहरूको संस्कृति, संस्कार र उत्पत्तिको इतिहास, राजनीतिक र सामाजिक स्थिति, बसाइँसराइ, मौलिक ज्ञान, प्रथाजनित संस्था र कानुन, भूमि र प्रकृतिसँगको सम्बन्ध र अनुभवलगायतको वैज्ञानिक तवरले अध्ययन गरी र दस्तावेज गरिने प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बताउनुभयो ।

उपाध्यक्ष गुरुङका अनुसार, परियोजनाले देशको समावेशी नीति निर्माणमा टेवा पु¥याउने र आदिवासी जनजातिको समग्र उत्थानमा योगदान पु¥याउने ठोस ज्ञान निर्माण गर्ने लक्ष्यले सो कार्यको सुरुआत गरिएको हो । ‘यो प्रतिष्ठानको महत्वाकांक्षी कार्य हो । चार वर्षभित्र सम्पूर्ण ज्ञानकोष निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेका छौं’ –उपाध्यक्ष गुरुङले भन्नुभयो । सो परियोजनाका लागि राजनीतिशास्त्री, मानवशास्त्री, समाजशास्त्री र इतिहासविद्हरूको अलग–अलग टोली बनाएर कार्य अघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार अहिलेसम्म आदिवासी जनजातिमध्ये ३२ वटा जातिको जातीयशास्त्र (इथ्नोग्राफिक प्रोफाइल) ७ वटा मातृभाषा, नेपाली र अंग्रेजी शब्दकोष तयार गरिसकेको छ । आदिवासी जनजातिको सामाजिक, आर्थिक र भाषिक तथा विविधसम्बन्धी ३ सय ७६ वटा कृति प्रकाशित गरिसकेको छ । त्यसै गरी आदिवासी जनजातिका बारेमा मानवशास्त्रीय र समाजशास्त्रीय विधिमा ३ सय ७७ वटा भन्दा बढी अध्ययन अनुसन्धान गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

उपाध्यक्ष गुरुङले भन्नुभयो– ‘प्रतिष्ठान एक विचार निर्माण गर्ने थलो हो । यसले नेपालका आदिवासी जनजातिको हितमा काम गर्नेसँगै सामाजिक न्याय र समानताका लागि राज्यको नीति निर्माणमा योगदान दिने खालको ज्ञान उत्पादन गरिरहेको छ ।’

उपाध्यक्ष गुरुङका अनुसार ज्ञानकोष निर्माण सम्पन्न भएपछि सूचीकृत आदिवासी जनजातिसम्बन्धी आधिकारिक दस्तावेज तयार हुनेछ, जसले भावी पुस्तालाई नेपालको आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कारमात्र नभई उनीहरूको आर्थिक, राजनीतिक र सामाजिक स्थिति र बदलिँदो अवस्थाबारे बुझ्न महत्वपूर्ण योगदान दिनेछ ।

‘यो परियोजना ज्ञान संकलन र दस्तावेजीकरणको पहलसँगै नेपालको समावेशी भविष्य निर्माणतर्फको ठोस पाइला पनि हो’ –उपाध्यक्ष गुरुङले भन्नुभयो ।