आदिवासी जनजातिको ज्ञान सम्बन्धी प्रतिष्ठानको परियोजना सुरु


आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले ज्ञानकोष निर्माण सम्बन्धी दीर्घकालीन महत्वको बृहत् परियोजना अघि बढाएको छ । 

नेपालको कुल जनसंख्याको झण्डै एक तिहाइ हिस्सा ओगटेका आदिवासी जनजातिको मौलिक ज्ञान, भाषा, संस्कृति र इतिहास संरक्षणसहित संविधान र कानुन बमोजिम अब गर्नुपर्ने कार्यहरुको दिशानिर्देशनका लागि सो परियोजना सुरु गरेको प्रतिष्ठानले जनाएको छ ।

नेपालका आदिवासी जनजाति ज्ञानकोष भाग – १ प्रकाशन गरी प्रतिष्ठानले सो कार्य अघि बढाएको छ । परियोजना अन्तर्गत विश्वविद्यालय तथ्यांकशास्त्र विभागको सहयोगमा २०७८ सालको जनगणनाको आधारमा आदिवासी जनजातिहरुको जनसंख्या र बसोबास, नेपालका भाषा समूहहरुको बारे छुट्टाछ्ुट्टै नक्साकंन प्रकाशन गरेको छ । यसबाट नीति निर्माणमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ । साथै, यी तथ्यांकहरूबाट आदिवासी जनजातिको जनसंख्या, थातथलो, र भाषिक विविधताबारे सहजै बुझ्न सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको महत्वाकांक्षी कार्यका रुपमा लिइएको ज्ञानकोषको सम्पूर्ण कार्य चार वर्षभित्र पुरा गर्ने लक्ष्य लिएको उपाध्यक्ष रेशम गुरुङले जानकारी दिए। परियोजना अन्तर्गत वार्षिक रुपमा नेपालका आदिवासी जनजातिहरुको संस्कृति, संस्कार र उत्पतिको इतिहास, राजनीतिक र सामाजिक स्थिति, बसाईसराई, मौलिक ज्ञान, प्रथाजनित संस्था र कानुन, भूमी र प्रकृतिसंगको सम्बन्ध र अनुभवहरू लगायतको वैज्ञानिक तवरले अध्ययन गरी र दस्तावेज गरिने प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बताए।

उपाध्यक्ष गुरुङका अनुसार,परियोजनाले देशको समावेशी नीति निर्माणमा टेवा पु¥याउने र आदिवासी जनजातिको समग्र उत्थानमा योगदान पु¥याउने ठोस ज्ञान निर्माण गर्ने लक्ष्यले सो कार्यको शुरुआत गरिएको हो। सो परियोजनाको लागि राजनीतिशास्त्री, मानवशास्त्री, समाजशास्त्री र इतिहासविद्हरूको अलग-अलग टोली बनाएर कार्य अघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार अहिलेसम्म आदिवासी जनजातिमध्ये ३२ वटा जातिको जातीयशास्त्र (इथ्नोग्राफिक प्रोफाईल) ७ वटा मातृभाषा, नेपाली र अंग्रेजी शब्दकोष तयार गरिसकेको छ । आदिवासी जनजातिको सामाजिक, आर्थिक र भाषिक तथा विविध सम्बन्धी ३ सय ७६ वटा कृति प्रकाशित गरिसकेको छ । त्यसैगरी आदिवासी जनजातिको बारेमा मानवशास्त्रीय र समाजशास्त्रीय विधिमा ३ सय ७७ वटा भन्दा बढी अध्ययन अनुसन्धान गरिसकेको प्रतिष्ठानले जनाएको छ।

उपाध्यक्ष गुरुङले भने ‘ प्रतिष्ठान एक विचार निर्माण गर्ने थलो हो। यसले नेपालका आदिवासी जनजातिको हितमा काम गर्नेसंगै सामाजिक न्याय र समानताको लागि राज्यको नीति निर्माणमा योगदान दिने खालको ज्ञान उत्पादन गरिरहेको छ ।’

उपाध्यक्ष गुरुङका अनुसार ज्ञानकोष निर्माण सम्पन्न भएपछि सूचीकृत आदिवासी जनजाति सम्बन्धी आधिकारिक दस्तावेज तयार हुनेछ, जसले भावी पुस्तालाई नेपालको आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार मात्र नभई उनीहरुको आर्थिक, राजनीतिक र सामाजिक स्थिति र बदलिँदो अवस्थाबारे बुझ्न महत्वपूर्ण योगदान दिनेछ ।

‘ यो परियोजना ज्ञान संकलन र दस्तावेजीकरणको पहलसंगै नेपालको समावेशी भविष्य निर्माणतर्फको ठोस पाइला पनि हो।’ उपाध्यक्ष गुरुङले भने।