लन्डन, (एजेन्सी)
म्यानचेस्टर यूनाइटेडका पूर्व मेनेजर इरिक टेन हाग जिम्मेबारी सम्हालेको दुई दिनमै बर्खास्तगीमा परेका छन् । टेन हागलाई दुई लिग खेलपछि बायर लेभेरक्यूसेनले बर्खास्त गरेको हो । गत अक्टोबरमा उनी यूनाइटेडबाट बर्खास्त भएका थिए । यसपछि उनी जर्मन क्लबमा आबद्ध भए । जर्मनीमा पनि उनी टिक्न सकेनन् ।
नेदरल्यान्डस्का ५५ वर्षीय टेन हाग यो सातामा बर्खास्तगीमा पर्ने तेस्रो मेनेजर हुन् । गत बिहीबार ओले गनर सोस्लकाएर बेसिक्टासबाट बर्खास्तगी भएका थिए । यसको भोलिपल्ट शुक्रबार फेनेरबाकले जोजे माउरिन्होलाई बर्खास्त गरेको थियो । यी दुबै जना पनि म्यानचेस्टर यूनाइटेडका पूर्व मेनेजर हुन् ।
टेन हागको बर्खास्तगी बुन्डेसलिगाको इतिहासमा सबैभन्दा चाँडो थियो । यसअघि यस जर्मन बुन्डेसलिगामा ५ खेलपछि बर्खास्तगी गरिएको कीर्तिमान थियो । लेभेरक्यूसेनले टेन हागलाई चार वर्षका लागि अनुबन्ध गरेको थियो । तर, शुरुआती दुई लिग खेलको प्रदर्शन सन्तोषजनक नभएपछि उनलाई टोलीबाट हटाउन बाध्य भएको क्लबले बतायो ।
लेभेरक्यूसेनले शुरुआती दुई लिग खेलमा एक अंक मात्रै जोडेको छ । गत शनिबार होफेनहेमविरुद्धको खेलमा १–० ले अग्रता बनाएकोमा पछि २–१ ले खेल गुमाउन पुग्यो । यसअघि वेर्डर ब्रेमेनविरुद्ध ३–१ ले अग्रता लिएको अवस्थामा ३–३ बराबरीमा रोकिनु परेको थियो ।
यस सिजनमा लेभेरक्यूसेनका प्रमुख खेलाडीहरूले क्लब छाडेका छन् । फ्लोरिएन विर्ज लिभरपुलमा ११६ मिलियन पाउन्डमा अनुबन्ध भएका छन् । यस्तै, जेरेमी फ्रिमपोग लिभरपुलमा, ग्रानिट झाका सन्डरल्यान्डमा, डिफेन्डर जोनाथन ताह बायर्न म्युनिकमा र अमिने अड्ली बोर्नमाउथमा आबद्ध भएका हुन् । यसैगरी गोलकीपर लुकास हार्डेकी मोनाकोमा आबद्ध भएका छन् ।
गत सिजनको लिगमा दोस्रो भएको लेभेरक्यूसेनले यस सिजनका लागि तीन खेलाडी महँगो दाममा अनुबन्ध गरेको छ । मलिक टिलम्यान, जेरेल क्वान्साह र इलीसी बेन सेगीरलाई क्लबमा अनुबन्ध गरेको हो । यी तीन खेलाडीका लागि क्लबले १०२ मिलियन यूरो खर्च गरेको छ ।











प्रतिक्रिया