नबिल म्युचुअल फण्डअन्तर्गतको एनआई ३१ योजनाको इकाई बाँडफाँट सम्पन्न


काठमाडौँ
नबिल बैँक लिमिटेडद्वारा प्रवद्र्धित र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले व्यवस्थापन गरेको नबिल म्युचुअल फण्डअन्तर्गतको एनआई ३१ खुलामुखी योजना अन्तर्गत इकाई बाँडफाँट कार्यक्रम सम्पन्न भएको छ ।

प्रति इकाई अंकित मूल्य १० रुपियाँका दरले जारी गरिएका कुल २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ५० लाख इकाई निष्काशन गरिएको थियो । सो मध्ये योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई सुरक्षित गरी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि विक्री वितरणमा ल्याइएको हो ।

यो इकाई खरिद आवेदन भदौ ३ गतेसम्म खुला गरिएको थियो । प्राप्त भएका आवेदनको छानबिनपछि योग्य आवेदकलाई इकाई बाँडफाँटको नमूना तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएको र कुनै आपत्ति वा निर्देशन प्राप्त नभएकाले आज (भदौ १६) बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा बाँडफाँट कार्य सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

बाँडफाँट कार्यक्रममा कोष प्रवद्र्धक नबिल बैंकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रतिनिधि, योजना व्यवस्थापक तथा निष्काशन र बिक्री प्रबन्धकका प्रतिनिधि, प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि.का प्रतिनिधि तथा सर्वसाधारण लगानीकर्ताहरूको उपस्थिति थियो ।

लगानीकर्ताले बाँडफाँट सम्बन्धी नतिजा कम्पनीको वेबसाइट iporesult.cdsc.com.np बाट हेर्न सक्नेछन् । थप जानकारीका लागि कम्पनीका सम्पर्क नम्बर ४५११६०४ वा ४५११७३३ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।