ओसिएद्वारा श्रेष्ठ र राजकर्णिकारलाई दुई वर्षको प्रतिबन्ध


काठमाडौं ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओएसिए) ले नेपालका दुई खेल संघका अध्यक्षद्वय निलेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ।ओसिए कार्यकारी बोर्डको अगस्ट २८ मा बसेको बैठकले इथिक्स कमिटीको सिफारिसमा नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

ओसिए आचारसंहिता (इथिक्स) समितिका अध्यक्ष देवेन्द्रनाथ सारंगीले भदौ १५ गते दुबै जनालाई पत्राचार गरी प्रतिबन्धको जानकारी गराएका छन् । प्रतिबन्धको अवधि सुरु भइसकेको र अबको दुई वर्षसम्म ओसिएसँग सम्बन्धित कुनै पनि गतिविधिमा उनीहरू सहभागी हुन नपाउने उल्लेख छ ।

प्रतिबन्धको जानकारीसहित पत्र ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र सम्बन्धित खेल संघहरूलाई पनि पठाइएको छ । यसअघि पनि ओसिएले श्रेष्ठ र राजकर्णिकारलाई ९० दिनका लागि अस्थायी रूपमा निलम्बन गरेको थियो । दुबै जना हाल एनओसीको तदर्थ समितिका सदस्यसमेत हुन् । यसअघि ओसिएले एनओसी तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई ओसिएको लोगो प्रयोग नगर्न चेतावनी दिइसकेको छ ।