ब्राइटनले सिटीलाई हरायो


लन्डन, (एजेन्सी)

प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । योसँगैं ब्राइटनले सिटीसँगै पूरै ३ अंक खोस्यो । हालान्डले ३४ औं मिनेटमा गोल गरेर सिटीलाई १–० को अग्रता दिलाएका थिए । यो अग्रता ६६ औं मिनेटसम्म रह्यो । यतिबेलासम्म सिटीसँग ३ अंक थियो । तर, ६७ औं मिनेटमा पेनाल्टीमा ब्राइटनका लागि सिटीकै पूर्व खेलाडी जेम्स मिल्नरले गोल गरेर सिटीलाई एृक अंकमा खुम्च्याए ।

यसपछि ८९ औं मिनेटमा ब्रायन गु्रदाले गोल थपेर ब्राइटनलाई २–१ को अग्रतामा राख्दै सिटीलाई शून्यमा झारे । यो गोलको जवाफ दिन नसक्दा सिटीले लगातार दोस्रो हार बेहोर्न बाध्य भयो । सिटी यसअघिको खेलमा टोटनहामसँग २–० ले पराजित भएको थियो । यो नतिजापछि तीन खेलमा सिटीको ३ अंक र ब्राइटनको ४ अंक भएको छ ।

यस्तै, अर्को खेलमा वेस्टहामले नटिङगम फोरेस्टलाई ३–० ले हराएर तीन खेलमा पहिलो जित हासिल गरेको छ । वेस्टहामले चार मिनेटमा दुई गोल गरेर जित्ने पक्का गरेको थियो । ८४ औं मिनेटमा जेरोड बोवेनले र ८८ औं मिनेटमा पेनाल्टीमा लुकास पाकोटाले गोल गरेका थिए । यस्तै, इन्जुरी समयमा क्यालम विल्सनले गोल थपे । यो जितसँगैं वेस्टहामले तीन अंक जोडेको छ भने पहिलो हार बेहोरेको फोरेस्टको चार अंक रहेको छ ।