रोमाञ्चक खेलमा पीएसजीको जित


लन्डन, (एजेन्सी)
जोआओ नेभेसले सात मिनेट भित्र दुई ओभरहेड किकबाट गोल गरेपछि पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले लिग १ को रोमाञ्चक खेलमा टुलुजलाई हरायो । यो खेलमा चार पेनाल्टी पनि सामेल थियो । साथै ९ गोल बर्सेर अन्तिमसम्म रोमाञ्चक बनेको यो खेल पीएसजीले ६–३ ले जितेको थियो ।

२० वर्षीय पोर्चुगलका खेलाडी नेभेसले सातौं र १४ औं मिनेटमा ओभरहेड किकमार्फत् दुई गोल गरेर पीएसजीलाई ३–० को अग्रतामा राखेका थिए । नवौं मिनेटमा ब्राड्ली बार्कोलाले टोलीको दोस्रो गोल गरेका थिए । ७८ औं मिनेटमा एक गोल गरेर नेभेस ह्याट्रिक पनि पूरा गर्न सफल भएका थिए । यस्तै, पीएसजीका लागि ओस्मान डेम्बेलेले पेनाल्टीमा दुई गोल गरेका थिए ।

टुलुजविरुद्ध ८८ औं मिनेटसम्म ६–१ को अग्रता लिएको पीएसजीले अन्तिममा दुई गोल बेहोर्न पुगेको थियो । अन्तिममा यान गोहोले ८९ औं मिनेटमा र इन्जुरी समयको पहिलो मिनेटमा एलेक्सिस भोसाहाले गोल फर्काएका थिए । यसअघि ३७ औं मिनेटमा चाली क्रेसबेलले गोल गरेका थिए । क्रिस्टियन कासेरेसले पेनाल्टी गुमाउँदा पनि टुलुजको खेलमा फर्कने अवसर गुमेको थियो ।

यो नतिजासँगैं पीएसजीको फ्रेन्च लिग वानको अंकतालिकामा शीर्ष स्थानमा रहेको छ । पीएसजीले तीनै खेल जितेको छ भने पहिलो हार बेहोरेको टुलुज ६ अंकसहित छैटो स्थानमा छ । दोस्रो स्थानमा रहेको लिलेको ७ अंक छ । लिलेले लोरिन्टलाई ७–१ ले हराएको थियो ।