लोगो प्रयोग नगर्न तदर्थ समितिलाई ओसिएको चेतावनी


काठमाडौं । 

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई ओसिएको लोगो अनाधिकृत रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ ।

ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले आइतबार एक पत्र पठाउँदै एनओसीको लेटरहेडमा ओसिएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको उल्लेख गर्दै तत्काल यस्तो कार्य बन्द नगरे कानुनी कारबाही अघि बढाउने स्पष्ट पारेका हुन् । उक्त पत्रको प्रतिलिपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एनओसीलाई समेत पठाइएको छ । पत्रमा भनिएको छ, “तपाईंले एनओसीको लेटरहेडमा ओसिएको लोगो प्रयोग गर्नुभएको तथ्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यो गैरकानुनी हो र तपाईँलाई यो आधिकारिक चेतावनी दिन चाहन्छौँ, यदि तत्काल यस्तो कार्य बन्द नगरिए कारबाही गरिनेछ ।”

गत साउन २६ गते २३ वटा राष्ट्रिय खेल संघहरूको सहमतिमा प्रधानको संयोजकत्वमा एनओसीको तदर्थ समिति गठन गरिएको थियो । उक्त समितिले भदौ ५ गते पत्रकार सम्मेलनमार्फत ९ सदस्यीय संरचना सार्वजनिक गरेको थियो । तदर्थ समितिले जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई अस्वीकार गर्दै आफूहरूले नै नेपालमा ओलम्पिक अभियान सञ्चालन गर्ने दाबी गर्दै आएको छ । तर, उक्त प्रक्रियामा तदर्थ समितिले आईओसी, ओसिए र एनओसीको लोगो प्रयोग गरेपछि जीवनराम श्रेष्ठ नेतृत्वको आधिकारिक एनओसीले कडा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो । सरकारको संलग्नता देखिए पनि तदर्थ समितिले आफूहरू स्वतन्त्र र स्वायत्त संस्थाका रूपमा गठन भएको दाबी गर्दै आएको छ ।