काठमाडौँ ।
आगामी मार्च २५ देखि २७ सम्म थाइल्यान्डको राजधानी बैंककमा ‘आसियान स्मार्ट इनर्जी एन्ड इनर्जी स्टोरेज एक्स्पो २०२६’ (एएसईई–२०२६) आयोजना हुने भएको छ । कम्पास एक्जिविसन कम्पनी लिमिटेड र ग्वाङडोङ ग्रान्ड्युर इन्टरनेशनल एक्जिविसन ग्रुपले संयुक्त रूपमा आयोजना गर्न लागेको यस प्रदर्शनीलाई थाइल्यान्डको ऊर्जा मन्त्रालय, थाइल्यान्ड कन्भेन्सन एन्ड एक्जिविसन ब्युरो -टीसीईबी_लगायत विभिन्न अन्तर्राष्ट्रिय ऊर्जा संघसंस्थाले सहयोग गर्नेछन् ।
एएसईई–२०२६ मा विश्वका ८० भन्दा बढी देशका ऊर्जा क्षेत्रका कम्पनी, विज्ञ र सरोकारवालाको सहभागिता रहनेछ । साथै प्रदर्शनी क्षेत्रफलमा ४०० भन्दा बढी प्रदर्शक तथा १८ हजारभन्दा बढी व्यावसायिक आगन्तुक सहभागी हुने अनुमान गरिएको छ । यसले ६८ करोड जनसंख्या भएको आसियान बजारमा सहज पहुँच दिलाउने आयोजकको अपेक्षा छ ।
थाइल्यान्डले सन् २०५० भित्र कार्बन न्यूट्रलिटी र २०६५ सम्म नेट–जिरो उत्सर्जन प्राप्त गर्ने लक्ष्य लिएको छ । यसका लागि ऊर्जा उत्पादन र भण्डारण (ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) मा ठूलो लगानी आवश्यक देखिएको छ । हालै सार्वजनिक गरिएको मस्याौदा विद्युत् विकास योजना ( २०२४–२०३७) अनुसार ४७ हजार २५१ मेगावाट क्षमतामा ऊर्जा थप गर्ने योजना रहेको छ, जसमा ३४ हजार ८५१ मेगावाट नवीकरणीय स्रोतबाट हुनेछ ।
उक्त एक्स्पोमा सौर्य, वायु, जल, हाइड्रोजन, ब्याट्री, ग्रिड समाधान, स्मार्ट–ग्रिड, ई–मोबिलिटी र ईभी चार्जिङ प्रविधि जस्ता नवीनतम प्रविधि प्रदर्शन गरिनेछ । ऊर्जा नीति निर्मातादेखि लगानीकर्ता, अनुसन्धानकर्ता, निर्मातादेखि वितरणकर्ता र परामर्शदातासम्मका सरोकारवालाको ठूलो जमघट हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा थाइल्यान्डसहित नेपाल, मलेसिया, भियतनाम, भारत, इन्डोनेसिया, जर्मनीलगायतका मुलुकका उद्योग प्रतिनिधि सहभागी हुनेछन् । गत वर्षको संस्करणमा १८५ प्रदर्शक र ९ हजार २ सयभन्दा बढी दर्शक सहभागी भएका थिए ।
थाइल्यान्डको ऊर्जा क्षेत्रमा हालै सुरु भएका ठूला फ्लोटिङ सोलार आयोजना जस्ते भुमिबोल र स्रिनगरिन बाँधमा विकास हुँदै गरेका १५८ मेगावाट र १८० मेगावाट क्षमताका परियोजना—समेत प्रदर्शनीको प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ ।
आयोजकहरूले अन्तर्राष्ट्रिय खरिदकर्तालाई आकर्षित गर्न निःशुल्क आवास सुविधा उपलब्ध गराउने बताएका छन् । साथै एशिया, युरोप, अमेरिका र मध्यपूर्वका नवीकरणीय ऊर्जा सम्बन्धी प्रदर्शनीहरूसँग मिलेर प्रचारप्रसार गर्ने तयारी गरिएको छ ।
‘आसियान स्मार्ट इनर्जी एन्ड इनर्जी स्टोरेज एक्स्पो २०२६’ लाई दक्षिणपूर्व एशियाली बजार प्रवेश गर्ने अवसर का रूपमा प्रस्तुत गरिएको छ ।











प्रतिक्रिया