नेपालमा क्याम्ब्रिज अन्तर्राष्ट्रिय शिक्षा – जुन २०२५ को नतिजा सार्वजनिक


काठमाडौँ ।


क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनले जुन २०२५को परीक्षाफल विश्वभर सार्वजनिक गरेको छ । यसअन्तर्गत ६ लाख ८० हजारभन्दा बढी विद्यार्थीले नतिजा प्राप्त गरेका छन्, जुन गत वर्षको तुलनामा ९ प्रतिशत वृद्धि हो। यस वर्ष विश्वभर करिब १७ लाख प्रवेश (एन्ट्री) दर्ता भएका छन्, जुन ७ प्रतिशतले वृद्धि भएको हो ।

नेपालमा पनि क्याम्ब्रिजको लोकप्रियता बढ्दो क्रममा छ । यस वर्ष २२ विद्यालयका ४ हजारभन्दा बढी विद्यार्थीले क्याम्ब्रिज इन्टरनेशनल एएस एण्ड ए लेभल, आईजीसीएसई र ओ लेभल मा नतिजा प्राप्त गरेका छन्। नेपालमा मात्रै ९ हजार ६ सयभन्दा बढी प्रवेश (एन्ट्री) दर्ता भएका थिए ।

विशेष गरी क्याम्ब्रिज इन्टरनेशनल एएस एण्ड ए लेभल सबैभन्दा बढी रोजिएको योग्यताको रूपमा स्थापित भएको छ । गत वर्षको तुलनामा नेपालमा यस स्तरमा ४ प्रतिशत वृद्धि भएको छ । गणित, भौतिकशास्त्र, अंग्रेजी जेनरल पेपर, रसायनशास्त्र र कम्प्युटर विज्ञान नेपाली विद्यार्थीका लागि सबैभन्दा लोकप्रिय विषय बनेका छन् ।

क्याम्ब्रिज इन्टरनेशनलका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष विनय शर्मा भन्नुहुन्छ “हामी नेपालका क्याम्ब्रिज विद्यार्थीहरूको उपलब्धि मनाउन उत्साहित छौँ । उहाँहरुको कडा मेहनत, र अभिभावकले अन्तर्राष्ट्रिय शिक्षामा बढ्दो विश्वास गर्नु सकारात्मक पक्ष हो ।

” त्यस्तै, दक्षिण एसियाका वरिष्ठ प्रबन्धक सत्यजीत सरकारका अनुसार, “विद्यार्थीको निरन्तर सफलता उनीहरूको मेहनत र परिवार तथा विद्यालयको साथको प्रतिफल हो । बढ्दो सहभागिताले नेपालमा विश्वस्तरीय शिक्षाप्रतिको आकर्षण र अग्रणी विश्वविद्यालय तथा विश्वव्यापी अवसरतर्फको अभिमुखीकरणलाई देखाउँछ ।”

अन्तर्राष्ट्रिय शिक्षा प्रचलनमा आएको मागले पछिल्ला पाँच वर्षमा विश्वभर क्याम्ब्रिज विद्यालयको संख्या ३८ प्रतिशतले र विद्यार्थी प्रवेश ७४ प्रतिशतले बढेको छ । हाल १४९ देशका ५,५०७ विद्यालयहरूले क्याम्ब्रिज परीक्षा सञ्चालन गर्दै आएका छन् ।

१६० वर्षभन्दा बढीको अनुभवसहित, क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनले हरेक वर्ष करिब २० लाख विद्यार्थीलाई सेवा पु¥याउँदै आएको छ ।

यसको पाठ्यक्रम – क्याम्ब्रिज चेकप्वाइन्ट देखि आईजीसीएसई, ओ लेभल, एएस एण्ड ए लेभल र इन्टरनेशनल प्रोजेक्ट क्वालिफिकेसनसम्म – विश्वका विद्यालय र विश्वविद्यालयले उच्च मूल्याङ्कन गरेका छन् ।