साउनमा निर्यात दोब्बर, व्यापार घाटा सवा खर्ब


काठमाडौं।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना (साउन) निर्यातमा उच्च वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा २३ अर्ब ९३ करोड रुपियाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९५.७५ प्रतिशतले वृद्धि हो । गत वर्षको साउनमा १२ अर्ब २२ करोड रुपियाँको निर्यात भएको थियो ।

निर्यात वृद्धिमा खानेतेल विशेष गरी सोयाबिन तेल, पाम तेल र सन फ्लावर तेलको वर्चस्व रहेको छ । साउनमा १० अर्ब ६९ करोड रुपियाँ बराबरको ५० लाख ७८ हजार किलो सोयाबिन तेल भारत पठाइएको छ ।

त्यस्तै ६७ करोड रुपियाँ बराबरको ३७ लाख ५६ हजार लिटर रिफाइन्ड पाम आयल र ६५ करोड रुपियाँ बराबरको ३४ लाख ८९ हजार लिटर सन फ्लावर तेल निर्यात भएको छ । गत वर्ष सोयाबिन तेल निर्यातको सूचीकृत स्थानमै नपुग्ने गरी तल ६३औं नम्बरमा पुगेको थियो भने यस वर्ष पहिलो स्थानमा आउनु नै निर्यात वृद्धिको प्रमुख कारण हो ।

त्यसै गरी कार्पेट ५५ करोड रुपियाँ बराबरको १५ हजार ६ सय ९७ स्क्वायर मिटर (अमेरिका प्रमुख बजार) पोलिस्टर धागो ४६ करोड रुपियाँ बराबरको २२ लाख किलो (भारत प्रमुख बजार), प्लाइउड (३५ करोड रुपियाँ बराबरको १ करोड ३१ लाख फ्रेट टन किलोमिटर (प्रमुख बजार भारत), चिया (३४ करोड रुपियाँ बराबरको १२ लाख किलो (भारत प्रमुख बजार ) र अलैंची (३२ करोड रुपियाँ बराबरको २ लाख १६ हजार किलो (भारत प्रमुख बजार) भई निर्यात भएको छ ।
आयाततर्फ नेपालले १ खर्ब ४३ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.४२ प्रतिशत बढी हो । नेपालले अर्जेन्टिनाबाट ८ अर्ब ७९ करोड रुपियाँ बराबरको ५ करोड ८० लाख लिटर कच्चा तेल तथा ब्राजिलबाट १ अर्ब ४७ करोड रुपियाँको सोयाबिन तेल आयात भएको छ । यद्यपि, पेट्रोलियम पदार्थमा पनि ठूलो खर्च भएको छ । ५ अर्ब ८८ करोड रुपियाँको डिजेल, ५ अर्ब ७७ करोड रुपियाँको पेट्रोल, ४ अर्ब ६६ करोड रुपियाँको खाना पकाउने ग्यास र १ अर्ब २९ करोड रुपियाँ बराबरको हवाई इन्धन आयात गरिएको छ ।

यसैगरी, २ अर्ब ६८ करोड रुपियाँ बराबरका मोबाइल फोन, १ अर्ब ५२ करोड रुपियाँको सुन, १ अर्ब ४० करोड रुपियाँ बराबरको चामल आयात भएको छ ।
साउन महिनामा नेपालमा १६० वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएका छन् । जसमध्ये भारतबाट ८५ वटा, चीनबाट ६० वटा, थाइल्याण्डबाट १३ वटा, दक्षिण कोरिया र अमेरिकाबाट १–१ वटा सवारी आएको विभागले जनाएको छ । यी ईभी आयातबाट २८ करोड २९ लाख रुपियाँ राजस्व संकलन भएको छ ।
निर्यात ह्वात्तै बढे पनि आयात उच्च भएकै कारण नेपाललाई साउन महिनामा १ खर्ब १९ अर्ब रुपियाँ बराबरको व्यापार घाटा भएको छ । गत वर्षको सोही महिनामा व्यापार घाटा १ खर्ब १६ अर्ब थियो । निर्यातको वृद्धिको मुख्य आधार प्रोसेसिङ गरिएको खाने तेलमा मात्रै सीमित हुनु दीर्घकालीन दृष्टिले चुनौतीपूर्ण देखिन्छ । आयातमा अझै पनि पेट्रोलियम पदार्थ, कच्चा तेल, सुन, मोबाइल फोन र दैनिक उपभोग्य वस्तुको ठूलो हिस्सा छ । यसले नेपालको उत्पादन र आयात–निर्यात संरचना अझै कमजोर रहेको देखाउँछ ।

आयात भएका प्रमुख वस्तु

-इन्धन : १७ अर्ब ६० करोड

-कच्चा सोयाबिन तेल : १० अर्ब २६ करोड

-मोबाइल फोन : २ अर्ब ६८ करोड

-सुन : १ अर्ब ५२ करोड

-चामल : १ अर्ब ४० करोड

निर्यात भएका प्रमुख वस्तु

-सोयाबिन तेल : १० अर्ब ६९ करोड

-कार्पेट : ५५ करोड

-पोलिस्टर धागो ४६ करोड

  • प्लाइउड ३५ करोड ।

-चिया ३४ करोड

  • अलैंची ३२ करोड