गुल्मी।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासस्थित ऐतिहासिक चिदिचौर खेलमैदान निर्माण कार्य अधुरै हुँदा अस्तव्यस्त बनेको छ । खेलमैदान स्तरोन्नति तथा पुनर्निर्माण कार्यका निर्माण सामाग्री अलपत्र हुँदा कठिनाइ भएको हो ।
मैदान निर्माणकार्य चलिरहेका कारण जिल्लामा आयोजना हुने खेलकुद गतिविधि मात्र होइन, जिल्लास्तरीय बिभिन्न सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसमेत प्रभावित भएको छ । नियमित रूपमा अभ्यास गर्ने खेलाडीहरू मैदान अभावमा प्रशिक्षण गर्न नसक्ने अवस्था आएको छ भने विद्यालय र संघसंस्थाले गर्ने प्रतियोगितासमेत स्थगित भएको छ ।
फोर्टिन स्टार युवा क्लवले हालै आयोजना गर्न लागेको फुटबल प्रतियोगिता अन्योलमा परेको क्लबका अध्यक्ष नारायण आचार्यले बताए । उनले चिदिचौर खेलमैदानमै विभिन्न संघ संस्थाले आयोजनामा ५ हजार भन्दा बढी खेलाडीले खेल प्रर्दशन स्थल बन्द हुनु दुखद पक्ष भएको बताए ।
चिदिचौर खेल मैदान पुनः निर्माण गरेर दुवो रोपेर व्यवस्थित बनाउन रेसुङ्गा नगरपालिकाले लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण कार्य थालिएको हो । मैदानमा वर्षातको समयमा मुल पलाउने गर्नाले त्यसलाई व्यवस्थित गर्न लागिएको छ ।
जसका कारण मैदानका सुस्त गतिमा निर्माणको काम भइरहेको छ । यसले जिल्लाको खेलकुद विकासलाई नै नकारात्मक असर पारेको लुम्बिनी खेलकुद परिषद सदस्य महेश काउछाले बताए ।
उनले केहि समयमै सुरु हुन लागेको १० दशौं राष्ट्रिय खेलकुद सुरु हुन लागेकाले त्यो समय अगाबै मैदान तयार गर्नुपर्नेमा जोड दिए । मैदानको बीचभागमा ढुंगा, गिट्टी, पाइपलगायतका निर्माण सामग्री थुपारिएको छ । खाल्डाखुल्डी खनेर यत्तिकै छाडिएका कारण मैदान जोखिमपूर्ण पनि बनेको छ ।
चिदिचौर खेल मैदान जिल्ला र राष्ट्रमै चर्चित खेलाडी उत्पादन स्थल भएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष गिरीप्रसाद महाकिमले बताए । उनले साना ठूला खेलकुद आयोजना रोकिदा खेल र आर्थिक चलायमानमा पनि नकारात्मक असर पुगेको बताए । पुनःनिर्माणको काम सिघ्र रपमा अगाडी बढनुपर्नेमा जोड दिए ।
निर्माण सामग्रीमा गुणस्तरहीनता देखिएपछि रेसुंगा नगरपालिकाले केही सामग्री फिर्ता पठाएको थियो । नगरप्रमुख खिलध्वज पन्थीका अनुसार नगरपालिकाले निर्माण कम्पनी र प्रदेश सरकारको ध्यानाकर्षण पटक–पटक गराएको भए पनि काममा अपेक्षित सुधार नभएको बताए ।
चिदिचौर खेलमैदानको पुनःर्निर्माणका लागि करिब १ करोड रुपैयाँ लागतमा रामेछाप कन्स्ट्रक्सनले जिम्मा पाएको थियो । सम्झौताअनुसार २०८३ असारसम्म काम सक्नुपर्ने अवधि रहेको छ । खनेर अधुरो छाडिएकाले समस्या झन् गहिरिएको हो ।
निर्माण व्यवसायीले समय रहेको र सामाग्रीपनि अभाव रहेकाले तत्काल काम गर्न कठिनाइ भएको बताउने गरेको छ । यसबीच खेलकुद प्रेमी, खेलाडी र स्थानीयवासीले निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।











प्रतिक्रिया