तदर्थ समितिद्वारा श्रेष्ठ अध्यक्ष कमिटीलाई चेतावनी

चल अचल सम्पत्ति बुझाउन आदेश


काठमाडौँ। 

नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले जीवनराम श्रेष्ठ अध्यक्ष भएको ओलम्पिक कमिटीलाई पत्र जारी गरी चेतावनी दिएको छ । 
नयाँ बनेको तदर्थ समितिले श्रेष्ठ अध्यक्ष भएको ओलम्पिक कमिटीको नाममा रहेको चल अचल सम्पत्तिलगायत नगद, जिन्सी सामग्री तथा कमिटीको माइनुट बुकसमेत तीन दिनभित्र बुझबुझारथ गर्न पत्र काटेको हो । यदि, सोको कार्यान्वयन नभएमा कानुनी कारबाहीमा जाने चेतावनी पत्रमार्फत दिएको छ । 

पत्रमा उल्लेख गरिएको छ कि श्रेष्ठले विधान विपरीत अनियमित ढंगले निर्वाचन र विधान संशोधन गरेर कार्यसमिति गठन गरेका थिए । सो कारण राष्ट्रिय खेलकुद परिषद्ले उक्त निर्वाचन र विधान संशोधनलाई खारेज गर्दै श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई कानुनसम्मत नभएको उल्लेख गरिएको पनि तदर्थ समितिले भनेको छ ।
 
परिषद्ले खारेज गरिसकेको अवस्थामा र गत साउन २६ गतेदेखि नै खेल संघहरूको संयुक्त भेलाबाट गठित तदर्थ समितिलाई आधिकारिकता प्रदान गरिसकेको हुनाले तदर्थ समितिले भदौ ४ गतेदेखि कामकाज सुरु गरिसकेको उल्लेख गरिएको छ ।