“म यो राख्न सक्छु ?” ट्रम्पको विश्वकप मोह


वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफी फिफा विश्वकपप्रति मोह पलाएको अभिव्यक्ति दिएका छन्। सन २०२६ फिफा विश्वकपको ड्र आगामी डिसेम्बर ५ मा वासिङ्टन डीसीको केनेडी सेन्टरमा आयोजना हुने घोषणा गर्दै ट्रम्पले हल्का ठट्टा गर्दै सोधे,“के म यो ट्रफी आफूसँग राख्न सक्छु ?” फिफा अध्यक्ष जियानी इन्फेन्टिनोको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा ट्रम्पले स्वर्ण ट्रफी हातमा लिँदै ठट्यौली शैलीमा बोलेको उक्त कुरा अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । ट्रम्पले सो कार्यक्रमलाई अमेरिकाको २५०औं स्वतन्त्रता दिवसको मुख्य आकर्षण भएको बताउँदै भने,“यो खेलकुद क्षेत्रको सायद सबैभन्दा ठूलो कार्यक्रम हो ।”

सन २०२६ को फिफा विश्वकपलाई अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । यो प्रतियोगिता इतिहासमै पहिलोपटक ४८ टोलीको सहभागितामा आयोजना हुनेछ । ट्रम्प र फिफा अध्यक्ष इन्फेन्टिनोबीचको मैत्रीपूर्ण सम्बन्ध उक्त कार्यक्रममा झल्किएको थियो । जहाँ इन्फेन्टिनोले ट्रम्पलाई विश्वकप ट्रफी समाउन आमन्त्रण गरेका थिए । ट्रम्पले ट्रफी हातमा लिएर हाँस्दै भने “म यो राख्न सक्छु ?” ट्रम्पको उक्त हल्का ठट्टाले विश्वकप ट्रफीप्रतिको उनको मोह प्रस्ट पारेको छ ।