घरको जेठी छोरी भएर होला, म सधैं मेरो बुवाकी असाध्यै प्यारी छोरी थिएँ। मेरो बाल्यकालको पहिलो स्पष्ट सम्झना नै उहाँसँगको छ—जब उहाँले मलाई पहिलो पटक विद्यालय लैजानु भयो।
त्यो दिन म “बालमन्दिर” स्कुल जाँदै थिएँ। आकाशे रंगको सर्ट, निलो फ्रक, ममीले बनाइदिएको दुई चुल्ठी कपाल, छालाको कालो जुत्ता र सेतो मोजामा सजिएकी थिए—तर म विद्यालयसम्म आफ्नै खुट्टाले पुगेकी थिइन ।मेरो बुवाले काँधमा बोकेर पुर्याउनु भएको थियो। त्यही क्षणदेखि सुरु भएको मेरो शैक्षिक यात्रा बुवाको हात समाएरै अघि बढ्यो। आज विद्यावारिधि (PhD) गर्दा सम्म पनि बुवाले मेरो हात कहिल्यै छोड्नु भएन।
मेरो बुवाको मेहनत र बलिदान
मेरो बुवा मेहनती र बौद्धिक व्यक्तित्व हुनुहुन्छ । सरकारी विद्यालयको प्रधान अध्यापक हुँदै २०४४/४५ सालतिर उहाँ झापाको महारानीझोडा गाउँ विकास समितिको सचिव हुनुभयो। हामीलाई राम्रो पढाइ होस् भनेर उहाँले परिवारसहित झापा लग्नुभयो। तर, त्यही समयमा म गम्भीर बिरामी परेँ।
मलाई उपचारका लागि बुवाले झापाबाट काठमाडौंसम्म ल्याउनु भएको थियो—कान्ति बाल अस्पतालमा डाक्टरहरुले अवस्था नाजुक छ, बचाउन गाह्रो हुन्छ भनेका बेला मैले पहिलोपटक मेरो बुवाले डाको छोडेर रुँदै गरेको देखेँ। “म मेरी छोरी बिना बाँच्न सक्दिन” भनेर डाक्टरलाई गुहारिरहेको उहाँको स्वर आज पनि मेरो कानमा गुन्जीरहन्छ। त्यस क्षणले मलाई बुबाको निस्वार्थ माया र असिम पीडा बुझायो। ममीबुवाले देखाएको त्याग, आँसु र धैर्यले मलाई फेरि पुनर्जन्म दियो।
नेपाली समाजमा बुवाको चित्र कस्तो हुन्छ?
चाउरिएका अनुहार, थाकेका काँध, पसिनाले भिजेका लुगा, अनि अनगिन्ती सपना बोकेको मौन मुटु। बुवाहरु आफैँ सकिँदै, आफ्ना सन्तानलाई उज्यालो भविष्य दिन जीवनभर भतारिन्छन्। तर कहिल्यै आफ्नो पीडा प्रकट गर्दैनन्। त्यसैले आज “बुवाको मुख हेर्ने दिन” केवल एउटा धार्मिक परम्परा मात्र होइन, सन्तानलाई जिम्मेवारी सम्झाउने चेतावनी दिवस पनि हो।
बाटो देखाउने हात
बुवाले मलाई जीवनभर एउटै शिक्षा दिनुभयो—“सधैं अब्बल बन्ने।” उहाँले मेहनत, इमानदारी र पढाइलाई जीवनको आधार बनाउन सिकाउनुभयो।
छोरीको विवाह भइसकेपछि “अब जिम्मेवारी सकियो” भन्ने सामाजिक धारणाले उहाँलाई कहिल्यै छोएन। विवाहपछि पनि बुवाले मेरो हात कहिल्यै छोड्नु भएन। उहाँ केवल पितामात्र नभई जीवनका गुरु र सहयात्री बन्नुभयो। आज म जे छु, त्यो बुवा–ममिको आशीर्वाद, त्याग र निरन्तर प्रेरणाकै फल हो।

बुवाको मुख हेर्ने दिनको सन्देश
यो दिन केवल उपहार वा फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने अवसर मात्र होइन। यो दिन सन्तानले सङ्कल्प गर्ने दिन हो—बुवाको मुख देखाउन लायक बन्ने दिन हो।बुवाको चाउरिएका अनुहार, थाप्लोबाट बगेको पसिना, मुग्लानपारिका छोरा/छोरीका लागि आँसु टलपलाएका आँखा—यी सबै हामीलाई स्मरण गराउँछन् कि अझै धेरै गर्न बाँकी छ।
समाजको यथार्थ
आज हजारौँ बुवाहरु आफ्ना सन्तान विदेश पठाएर गाउँमै एक्ला छन्। उनका आँखामा छोराछोरीको उज्ज्वल भविष्यको सपना चम्किन्छ तर मुटुमा असहायतालाई बोकेका हुन्छन्। कतै पसिना झरेको छ, कतै आँसु थामिन सकेका छैनन्। तर एउटै अपेक्षा अझै बाँकी छ—सन्तान फर्केर आफ्नो बुवाको अनुहारमा गर्व ल्याउलान्।
त्याग र आँसुका अनुहारहरू
हाम्रो समाजमा सन्तान सफल होस् भनेर जीवनभर पसिना बगाउने बुवाहरु हजारौँ छन्। खेतमा हलो जोत्नेदेखि शहरमा मजदुरी गर्ने, कार्यालयमा रातभर खटिने, वा परदेशमा श्रम बेच्ने—उनीहरुको उद्देश्य एउटै हुन्छ, “छोराछोरीले म भन्दा राम्रो जीवन जिउन्।”
यही चाहनाले गर्दा उनीहरुको अनुहारमा चाउरी थपिन्छ, आँखामा निन्द्रा हराउँछ र जीवन भरी आफ्नै सपना पुरा नगरी सन्तानको सपना पुरा गर्न समर्पित हुन्छन्।
रित्तिएका गाउँ, एक्लिएका बाउ
नेपालका सयौँ गाउँ आज युवा शून्य छन्। सन्तान बिदेसिएका कारण गाउँमा केवल वृद्ध आमाबुवा मात्र बाँकी छन्।
बुवाहरु खेतमा पसिना बगाउँछन्, तर छोराछोरीलाई त्यो पसिनाको गन्ध थाहा हुँदैन।यही पीडा हो—रित्तिएका गाउँ र एक्लिएका बाउको वास्तविकता।
सामाजिक सन्देश
हामीले बुझ्नैपर्छ, केवल व्यक्तिगत स्तरमा मात्र होइन, समाजकै संरचना बुवाको त्यागमा अडिएको छ।देश चलाउने नेतादेखि गाउँमा उभिएको शिक्षकसम्म, हरेक सफल व्यक्तिको मूलमा बुवाको पसिना छ।तर, हाम्रो संस्कृति अझै पनि बुवाको योगदानलाई पर्याप्त महत्व दिन सक्दैन।
यसैले आजको दिनले सन्देश दिन्छ—“बुवालाई केवल आजको दिनमा मात्रै सम्झेर हैन, जीवनभर सम्मान गरौँ।
हाम्रो संकल्प: यस दिन हामीले तीन कुरा प्रतिज्ञा गर्नुपर्छ
-बुवाले आशा गरेको जीवन, इज्जत र माया दिने सन्तान बन्ने
-बुवाको चाउरिएका मुखमा फेरि हाँसो ल्याउने
-उहाँको बलिदानलाई व्यर्थ नठहराउने
-समाजलाई ठग्ने होइन, बुवाको आशीर्वाद जोगाउने काम गर्ने
-बुवाले त जीवनभर आफ्नो जिम्मेवारी पुरा गरेका छन्। अब पालो सन्तानको हो—उहाँलाई गौरवान्वित बनाउने
किनकि “बुवा” शब्द आफैंमा आशीर्वाद हो, जग हो, जसले हामीलाई उभ्याएको छ।
निष्कर्ष
चाउरिएका अनुहार र पसिनाका धर्काहरुमा लुकेको कथा सुन्ने आँट गरौँ।
मुग्लानपारिबाट सम्झेर आफ्ना बुवाको अनुहारमा गर्व ल्याउने सङ्कल्प गरौँ।
रित्तिएका गाउँलाई फेरि जीवन दिन सन्तान फर्केर आफ्ना बुवालाई अँगालो हालौँ।
बुवाको मुख हेर्ने दिन” केवल धार्मिक विधि होइन—यो त हाम्रो जिम्मेवारीको घोषणा हो।
फुलमालाको सजावट भन्दा ठूलो उपहार छ—बुवाको पसिनालाई सम्मान गर्ने र उहाँलाई गर्व गर्न लायक सन्तान बन्ने।
लेखिएका – मेरो बुवाकी छोरी
डा. तारु कार्की











प्रतिक्रिया