नेपालीका प्रायः घरमा बिहानको शुरुवाती दृश्य नै महिलाले कुचो लगाउँदै गरेको देखिन्छ । भान्साको काममा समेत महिला नै व्यस्त रहेको देखिन्छ । घरका पुरुषहरुचाहिँ बिहानै मर्निङ वाकमा गएका वा चिया–पानी खाँदै बसेका देखिन्छन् ।
घर र बाहिरको काम दुवै गर्नुपर्ने अवस्था आउँदा कति कठिन हुन्छ भन्ने कुरा अब आफैँ मनन गर्ने समय आएको छ । घरबाहिरको काम गर्दा थाक्ने वा गल्ने पुरुष मात्र हुन् त ? सबै परिवारमा यो यथार्थ लागू नहुन सक्छ, तर अझै पनि धेरैजसो परिवारमा यस्तै अवस्था देखिएको छ ।
एक्काइसौँ शताब्दीको यो आधुनिक युगमा जब हामी समानता, स्वतन्त्रता र समृद्धिको कुरा गरिरहेका छौं, त्यही समाजभित्र छोरीहरूको अस्तित्व र अधिकार अझै पनि संकटमा परेका धेरै उदाहरण देखिन्छन् । परिवर्तनका धेरै रूप देखिए पनि मूल सोचमा जति परिवर्तन आउनुपर्ने थियो, त्यो देखिन सकेको छैन ।
अहिले समाजमा छोरीलाई शिक्षा दिनुपर्ने आवश्यकता बुझेका छन् । छोरीहरू पनि उच्च शिक्षा लिइरहेका छन्, जागिर गर्दै आत्मनिर्भरसमेत बनेका छन् । अभिभावकहरू छोरीको उपलब्धिमा गर्व गर्छन् । यो सकारात्मक परिवर्तन हो । तर यति परिवर्तनले मात्रै समाजमा समानता स्थापित भयो भन्नुचाहिँ अधुरो मूल्याङ्कन हुनेछ ।
आज पनि धेरै स्थानमा छोरी जन्मिनुअघि नै प्रविधिको दुरुपयोग गरेर भ्रूण परीक्षणमार्फत गर्भपतन गरिने घटनाहरू सुनिन्छन् । छोरी हुनु ‘पाप’ ठान्ने सोच अझै गहिरिएको छ । धर्म र संस्कृति भन्ने नाममा छाउपडीजस्ता कुप्रथाले गाउँका किशोरीहरूको ज्यान लिइरहेका छन् । विवाहपछि दाइजो नपुगेको भन्दै हिंसा गरिनु, उमेरै नपुगी विवाह हुँदा शिक्षाबाट वञ्चित हुनु, आत्मनिर्भर हुन नपाएका कारण आजीवन शारीरिक र मानसिक हिंसा सहन विवश हुनु, यी सबै घटना हाम्रो समाजमा आज पनि जिउँदै छन् ।
आज पनि एक शिक्षित व्यक्ति छोरी नहुनुलाई गर्वको विषय ठान्छन् । छोरी जन्मिएपछि अबचाहिँ छोरा नै जन्माउनुपर्छ भन्ने मानसिकता बोकेको समाज अझै पनि हाम्रो वरिपरि छ । शिक्षित र सभ्य देखिने मानिसहरूले नै यस्तो सोच राख्दा, हाम्रो चेतना कति पछि परेको छ भन्ने कुराको प्रमाण मिल्छ । यो अवस्था केवल अशिक्षाको परिणाम होइन, गहिरो संस्कारगत सोचको प्रभाव हो, जसले आजसम्म पनि छोरीलाई दोस्रो दर्जाको रूपमा हेर्ने परम्परा कायम राखेको छ ।
‘छोरा भए दाइजो आउँछ र छोरी भए दिनुपर्छ’ भन्ने सोच हाम्रो समाजमा गहिरोरूपमा गढेको छ । यो सोचले केवल छोरीलाई दोस्रो दर्जाको हैसियतमा राख्ने मात्र होइन, यसले सम्पूर्ण सामाजिक संरचनालाई नै असमान, अन्यायपूर्ण र हिंसात्मक बनाउँछ ।
तर प्रश्न उठ्छ– के मान्छेको मूल्य दाइजोले तोकिन्छ ? छोरा भएकै कारण दाइजो पाउने हकदार र छोरी भएकै कारण दाइजो दिने बाध्यता हुनु कति न्यायोचित छ ? यो सोचलाई परिवर्तन नगरेसम्म न त महिलामाथिको हिंसा अन्त्य हुन्छ, न समानता स्थापित हुन्छ । समाजमा साँच्चिकै समानता ल्याउन छोरी र छोरालाई बराबरीको दृष्टिकोणबाट हेर्न सिक्नुपर्छ । उनीहरूको लिंग होइन, व्यक्तित्व, सीप र व्यवहार नै मूल्याङ्कनको आधार हुनुपर्छ ।
अब समय आएको छ कि हामी खुलेर भन्न सकौं– ‘न छोरी भार हुन्, न छोरा सम्पत्ति । दाइजोको चलन समाप्त गर्नु, समानताको पहिलो पाइला हो ।’ ‘छोरी भार र छोरा सम्पत्ति हुन्’ भन्ने सोचले अनेकौं छोरीहरू जन्मिनुअघि नै मारिन्छन्, शिक्षा र अवसरबाट वञ्चित हुन्छन् र विवाहपछिको जीवनमा पनि दाइजो नपुगेको निहुँमा हिंसा सहन बाध्य हुन्छन् ।
यस्ता घटना प्रायः दबाउने प्रयास गरिन्छ । यदि बाहिर आयो भने पनि न्याय दिनुको साटो पीडितमाथि नै प्रश्न उठाइन्छ । अझ कतिपय समाजमा पीडा दिनेहरु नै ‘प्रतिष्ठित’ भनिने व्यक्ति वा परिवारका सदस्य हुने हुँदा पीडितलाई आवाज उठाउन झन् मुस्किल हुन्छ ।
यी समस्याले गम्भीर प्रश्नहरु खडा गर्छन्– ‘के हामीले खोजेको परिवर्तन यही हो ? के छोरीलाई पढाएर मात्र हाम्रो कर्तव्य सकिन्छ ? के उनीहरूले सुरक्षित, सम्मानजनक र स्वतन्त्र जीवन जिउन पाउने सुनिश्चितता हामीले दिन सकेका छौं ?
आजको परिवर्तन केवल बाह्यरूपमा देखिएको छ– आधुनिक लुगा, प्रविधिमा पहुँच, जागिर, आत्मनिर्भरता । तर चेतना, व्यवहार र सोचमा आवश्यक परिवर्तन आएको छैन । जबसम्म हामी सोच बदल्न सक्दैनौं, तबसम्म छोरीका लागि यो समाज साँच्चिकै सुरक्षित बन्न सक्दैन ।
परिवर्तन घरमै शुरुवात गर्न आवश्यक :
समाजमा वास्तविक परिवर्तन ल्याउन कानुन र अभियान मात्र होइन, घरभित्रको सोच र व्यवहारमा परिवर्तन अपरिहार्य छ । आज पनि धेरै घरमा छोरीलाई गृहकार्य, भान्साको काम सिकाइन्छ तर उनीहरुलाई बाहिरी र स्तरीय जिम्मेवारीबाट टाढा राखिन्छ । यस्तो व्यवहारले नै भविष्यमा महिला–पुरुषबीचको भेदभावलाई बल दिन्छ ।
छोरीलाई मात्र होइन, छोरालाई पनि घरको आफ्नो काम आफैँ गर्न सिकाउने बानीको विकास गराउनुपर्छ । जब छोराले घरको काम, जिम्मेवारी र भावनात्मक श्रमको सम्मान गर्न सिक्छ, तब मात्र बराबरी व्यवहारको संस्कार समाजमा फैलन्छ ।
विवाहपछि परिवारमा आउने बुहारीलाई ुआफ्नै छोरीसरह व्यवहार गर्न सक्ने संस्कार पनि घरबाटै शुरु हुनुपर्छ । ‘यो त अर्काकी छोरी भन्ने सोचले उसलाई सधैँ पराई बनाइरहन्छ, जसले मानसिक तथा भावनात्मक हिंसा जन्माउँछ । यस्ता सूक्ष्म भेदभावलाई अन्त्य गर्न घरको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
कडा कारबाही र सामाजिक सन्देश जरुरी :
महिलामाथि हुने घरेलु हिंसा, दाइजोसम्बन्धी यातना, यौनजन्य हिंसा र मानसिक पीडाका घटनामा कानुनी कारबाही कागजमा मात्रै सीमित नहोस् । दोषीमाथि स्पष्ट र कडा सजाय व्यवहारमा समेत हुनु आवश्यक छ । यसले अन्यलाई पनि चेतावनी दिनेछ कि यस्तो व्यवहार सामाजिकरूपमा स्वीकार्य छैन ।
अन्याय गर्नेहरूलाई कानुनी सजाय मात्र होइन, सामाजिकरूपमा पनि जवाफदेही बनाउनु आवश्यक छ । जब अपराधी सार्वजनिकरूपमा चिनिन्छ तब त्यस्तो सोच राख्ने आफैँ सिक्न थाल्छ कि अब यस्तो गल्ती सजिलै माफ हुँदैन ।
निष्कर्ष :
समानताको शिक्षा विद्यालयले दिन सक्छ, कानुनले अधिकार सुनिश्चित गरिदिन सक्छ, तर मानवता र व्यवहारको संस्कार भने घरबाटै शुरु हुन्छ । जब हरेक घरले छोरी र छोरालाई समान व्यवहार गर्न थाल्छ, जब बुहारीलाई आफ्नै छोरीजस्तो माया दिन थाल्छ, जब हिंसा गर्नेलाई सजाय दिने संस्कार विकास हुन्छ, तब मात्र हामीले समान र सुरक्षित समाज निर्माण गर्न सक्नेछौं ।











प्रतिक्रिया