जानि राखौं कुशको महत्त्व


‘स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।’

धर्मशास्त्रमा भनिएको छ कि नुहाउँदा, जप गर्दा, स्नान गर्दा, दान, स्वाध्याय, पाठ–पूजा र पितृकार्य जस्ता सबै धार्मिक कर्महरू कुशको प्रयोगबिना अपूर्ण वा निष्फल मानिन्छन् ।

यस वर्ष भाद्र कृष्ण अमावस्यामा पर्ने कुशेऔंशी यही २०८२ साल भाद्र ८ गते शनिबार परेको छ । यसै दिन मोतीराम भट्टको जयन्ती पितृ सम्मान दिवस (बुबाको मुख हेर्ने दिन) पनि परेको छ ।

कुशको औषधीय र आध्यात्मिक लाभ

‘नास्य केशान् प्रवपन्ति, नोरसि ताऽमानते ।’ (देवीभागवत १९-३२)
कुशको माला शिरमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ ।

उच्च रक्तचाप (बीपी) पनि नियन्त्रणमा रहन्छ भन्ने शास्त्रीय मान्यता छ ।

कुशको औंठी (पवित्र) को प्रयोग

धार्मिक कार्य गर्दा अनामिका (साइँली) औंलामा कुशको औंठी लगाउने परम्परा छ । यस औंला सूर्यको स्थान मानिन्छ— जसबाट तेज, शक्ति र यश प्राप्त हुन्छ । पूजा गर्दा अन्य औंलाले व्यवधान नपु¥याओस भनेर पवित्रको प्रयोग गरिन्छ ।

‘यथा बज्रं सुरेन्द्रस्य यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य तथा विप्र पवित्रकम् ।।

जसरी इन्द्रको रक्षा बज्रले, विष्णुको सुदर्शन चक्रले र शिवको त्रिशूलले गर्छ, त्यसरी नै ब्राह्मणको रक्षा पवित्रक (कुशको औंठी) ले गर्छ भन्ने विश्वास छ ।

अशुभ शक्तिबाट सुरक्षा

शुभ कार्यको शुरुआत गर्दा अनेक प्रकारका बाधा वा असुर शक्तिको प्रभाव हुनसक्छ । त्यसैले ः ब्राह्मणद्वारा अभिमन्त्रित कुशको औंठी लगाउँदा धार्मिक कार्यमा हुने सम्भावित बिघ्न र अनिष्ट शक्तिबाट सुरक्षा मिल्दछ ।

कुश उखाल्ने विधि

‘विरञ्चिन सहोत्पन्न परमेष्टि निसर्जन ।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।।’
ॐ हूँ फट् ।

अर्थात् हे कुश! तिमी ब्रह्मासँगै यज्ञ–अनुष्ठानका लागि उत्पन्न भएका हौं । तिमीले कर्ताका सबै पाप हरण गर र यजमानको घरमा स्वस्ति र शान्तिको वातावरण बनाऊ ।

कुश सजगता र मन्त्रसहित ब्राह्मणद्वारा उखाल्नु पर्दछ । त्यसपछि कुशलाई घरको पवित्र स्थानमा राखिन्छ, जसले समस्त अनिष्ट टार्छ र शान्ति ल्याउँछ ।

मृत्युकालमा कुशको प्रयोग

धर्मशास्त्र अनुसार रणासन्न व्यक्तिलाई तुलसीको मठमा, गाईको गोबरले लिपिएको स्थानमा तामाको भाँडामा गंगाजल राखी कुश ओछ्याएर गंगाजल पिलाएमा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ ।

कुश केवल एक घाँस होइन, यो वैदिक परम्परामा पवित्रता, शक्ति र सुरक्षाको प्रतीक हो ।

धार्मिक दृष्टिकोणले मात्र होइन, शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि यसको प्रयोग लाभदायक मानिन्छ । शुभ कार्यमा यसको प्रयोगले धर्मशास्त्र र परम्पराको पालन गर्दछ ।