“पितृदेवो भवः” पिता देवताजस्तै हुन् भन्ने सनातन धर्मको गहिरो सन्देश समेटिएको पर्व हो ‘कुशे’ औंसी जसलाई नेपाली समाजमा “बुबाको मुख हेर्ने दिन” को रूपमा पनि चिनिन्छ । हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने यो पर्व पिताप्रति श्रद्धा, कृतज्ञता र समर्पण व्यक्त गर्ने अनुपम अवसर हो । यस दिन सन्तानहरूले जीवित बुबालाई मिठा परिकार, नयाँ वस्त्र र उपहार प्रदान गरी स्नेह र आशीर्वाद प्राप्त गर्छन् । दिवङ्गत पितृहरूलाई भने तर्पण, श्राद्ध र दान–पुण्य गरेर श्रद्धाञ्जली अर्पण गरिन्छ ।
पितृ सम्मान र तीर्थयात्राको दिवस
कुशे औंसीको दिन देशभरका तीर्थस्थलहरूमा श्रद्धालुहरूको भीड लाग्छ । काठमाडौंको गोकर्णेश्वर, सुनसरीको वराहक्षेत्र, नवलपुरको देवघाट लगायतका स्थानमा पितृ तर्पण गर्न आउनेहरूको संख्या उल्लेखनीय हुन्छ । यही कारणले यो पर्वलाई “पितृ–सम्मान दिवस” को रूपमा समेत चिनिन्छ ।
कुशोत्पाटिनी अमावस्या
कुशे औंसीमा प्रयोग हुने “कुश” घाँस सनातन धर्ममा अत्यन्त पवित्र मानिन्छ । पुराणअनुसार ब्रह्माको सृष्टिसँगै कुशको उत्पत्ति भएको हो । भगवान विष्णुले वराह अवतारका वेला समुद्र किनारमा विश्राम गर्दा शरीरबाट झरेका रौँबाट कुशको उत्पत्ति भएको पौराणिक मान्यता रहँदै आएको छ । कुशबिना यज्ञ, श्राद्ध, वा कुनै पनि पूजा अपूर्ण मानिन्छ । त्यसैले यो दिनलाई “कुशोत्पाटिनी अमावस्या” पनि भनिन्छ । यस दिन विधिपूर्वक मन्त्र उच्चारणसहित कुश उखेल्ने परम्परा छ । पौराणिक मान्यताअनुसार सोमबार परेको कुशे औंसीमा संकलित कुश १२ वर्षसम्म पवित्र हुने जनविश्वास छ ।
श्राद्ध संस्कार र पितृ भक्ति
सनातन परम्परामा माता–पितालाई साक्षात् देवीदेवता मानिन्छन् । जीवनदात्री, संस्कारदात्री, मार्गदर्शक पिताहरूको योगदान अतुलनीय हुन्छ । जीवित पितालाई सम्मान गर्नाले परिवारमा प्रेम र सद्भाव बढ्छ भने दिवङ्गत पितृहरूको सम्झनामा गरिएको श्राद्धले आध्यात्मिक शान्ति प्रदान गर्छ भन्ने धार्मिक मान्यता छ । कसैकसैले त बुबाको स्मृतिमा मठ–मन्दिर निर्माण, धर्मशाला स्थापना र सामाजिक सेवा पनि गर्ने गर्दछन् । जुन परोपकारका रूपमा अर्को पवित्र कर्म मानिन्छ ।
कर्तव्यको प्रतीक
कुशे औंसी केवल परम्परागत चाड मात्र होइन । यो संस्कार, श्रद्धा र कर्तव्यबोधको गहिरो अनुभूति पनि हो । पिताको जीवनमा सेवा र मृत्युपश्चात् श्रद्धा, यी दुवै सन्तानका धर्म हुन् । यही कारणले कुशे औंसी “बुबाको मुख हेर्ने दिन” मात्र नभई, पितृ–आदर, संस्कृति र आत्मिक उत्तरदायित्वको एक समग्र प्रतीकको रूपमा लिइन्छ ।
नेपाली र अन्तर्राष्ट्रिय ‘फादर्स डे’ बीचको भिन्नता
गैरहिन्दुहरूको अथवा अन्तर्राष्ट्रीय रूपमा “फादर्स डे” हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार मनाउने गरिन्छ । जुन ग्रेगोरियन क्यालेन्डर अनुसार स्थिर मितिमा पर्दछ । तर, नेपालमा मनाइने फादर्स डे अर्थात कुशे औंसी “चन्द्र पात्रो” अनुसार भदौ महिनाको औंसी तिथिमा मनाइन्छ , जसले गर्दा यसको मिति वर्षेनी फरक पर्न जान्छ । नेपाली “फादर्स डे” केवल एक अनुकृति मात्रै होइन, यो आफ्नो मौलिक धार्मिक, सांस्कृतिक र आध्यात्मिक मूल्य बोकेको पर्व पनि हो भनेर यसले स्पष्ट हुन्छ ।











प्रतिक्रिया