फाबियोले शिल्टनको कीर्तिमान तोडे


लन्डन, (एजेन्सी)

ब्राजिली क्लब फ्लुमिनेन्सका गोलकीपर फाबियो लोपेसले पुरुष फुटबलमा सबैभन्दा धेरै खेल खेलेको विश्व कीर्तिमान रचेका छन् । ४४ वर्षीय ब्राजिलियन गोलकीपरले १३९१ औं खेल खेल्दै इङ्ल्यान्डका पूर्वगोलकिपर पिटर शिल्टनको कीर्तिमान भंग गरेका हुन् । सर्वाधिक १३९० खेल खेलेको विश्व कीर्तिमान शिल्टनले २८ वर्षसम्म सुरक्षित राखे ।

फाबियोले आफ्नो करिअर सन् १९९७ मा सुरु गर्दा शिल्टनले अन्तर्राष्ट्रिय करिअर समाप्त गरेका थिए । शिल्टनका अनुसार उनले १३८७ खेल खेलेका थिए भने गिनिज वल्र्ड रेकड्र्सले भने १३९० खेल भएको जनाएको छ । शिल्टन उनै गोलकीपर हुन् जसको विरुद्ध सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले हातले गोल गरेका थिए ।

गत शनिबार शिल्टनको बराबरी गरेका फाबियोले माराकाना रंगशालामा अमेरिका डी कालीविरुद्धको २–० को जितसँगै उक्त कीर्तिमान तोडेका हुन् । फ्लुमिनेन्स र ब्राजिलियन सञ्चारमाध्यमका अनुसार अब फाबियो इतिहासमै अग्रस्थानमा पुगेका छन् । यद्यपि, फिफा वा दक्षिण अमेरिकी फुटबल महासंघले यसलाई आधिकारिक कीर्तिमानको मान्यता भने दिएका छैनन् ।

‘कहिलेकाहीँ हामीलाई यस्ता महत्वपूर्ण उपलब्धि हासिल गर्दा त्यसको वास्तविक महत्व तत्काल थाहा हुँदैन। यो कीर्तिमान धेरै वर्षसम्म कायम थियो र यसलाई तोड्न पाउनु निकै ठूलो कुरा हो,’ फाबियोले कोपा सुदामेरिकानाअन्तर्गत अन्तिम १६ को दोस्रो चरणमा ‘क्लिनसिट’ राखेपछि भने ।

फ्लुमिनेन्सका प्रशिक्षक रेनाटो गाउचोले भने, ‘यति धेरै खेल खेल्न असाधारण व्यवसायिकपन चाहिन्छ । उनले अझै लामो समय खेल्नेछन् भन्नेमा कुनै शंका छैन । उनको यो कीर्तिमान अरूले तोड्न निकै कठिन हुनेछ ।’

फाबियोले २०२३ मा फ्लुमिनेन्ससँगंै कोपा लिबर्टाडोरेस जितेका थिए र यसै वर्ष अमेरिकामा भएको क्लब विश्वकपको सेमिफाइनलसम्म पुगेको टोलीका सदस्यसमेत थिए । उनले करिअरको सबैभन्दा लामो समय क्रुजेरोमा २००५ देखि २०२२ सम्म ९७६ खेल खेलेका थिए ।
यसअघि उनले उनियाओ बन्देइरान्तेसँग ३० र भास्को दा गामासँग १५० खेल खेलेका थिए । अमेरिक डी कालिविरुद्धको खेल उनको फ्लुमिनेन्सका लागि २३५औं उपस्थिति थियो ।