काठमाडौं।
नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिको ९ जना सदस्यीय पदाधिकारीको नाम सार्वजनिक गरिएको छ ।
ओलम्पिकमाआबद्ध २३ भन्दा बढी संघलाई मिलाएर बनाइएको तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत् पदाधिकारीको नाम सार्वजनिक गरेको हो । तदर्थ समितिको संयोजकमा एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान छन् । प्रधान नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष हुन् । नेपाल कुश्ती संघका उपाध्यक्ष समिम मियाँ अन्सारीलाई सदस्य–प्रवक्तामा नियुक्ति गरिएको छ ।
यसैगरी अन्य सदस्यहरूमा नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्र हमाल र नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार छन् ।
पत्रकार सम्मेलनमा समितिका प्रतिनिधिहरूले अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भएको कार्यसमितिले विधान विपरीत गैरकानूनी निर्णयहरू गर्दै ओलम्पिक कमिटिलाई स्वार्थपूर्ति गर्ने साधन बनाएको आरोप लगाएका छन् ।
अदालतको आदेश विपरीत गरिएको विधान संशोधन र निर्वाचन गैरकानूनी भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत सो कार्यसमितिलाई अवैध घोषणा गरिसकेको उल्लेख गरिएको छ । राखेपको १ सय १९ औं बोर्ड बैठकले जीवनराम श्रेष्ठले गराएको निर्वाचनलाई अवैधानिक र गैरकानुनी भन्दै सो निर्वाचनलाई खारेज गरेको थियो ।
कमिटीभित्र भएका विवाद, विधान संशोधनमा देखिएका अनियमितता तथा अदालतका आदेश उल्लंघनलगायत कारण खेल क्षेत्रमा सिर्जित भ्रमपूर्ण अवस्थाबाट खेलाडी र प्रशिक्षकहरू मानसिक दबाबमा परेको भन्दै तत्कालीन परिस्थितिलाई सम्बोधन गर्न तदर्थ समिति गठन गरिएको जानकारी दिइयो ।
जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटी अवैधानिक भएको भन्दै ओलम्पिकमा आबद्ध २३ खेलाडी संघ मिलेर तदर्थ समिति बनाइएको थियो । ओलम्पिक कमिटीका पूर्व अध्यक्ष र हालका मानार्थ अध्यक्ष रहेका ध्रुव बहादुर प्रधान अध्यक्षतामा केही दिनअघि तदर्थ समिति गठन गरिएको थियो ।
नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले दिएको निर्देशन र कार्यकारी निकाय राखेपकै पहलमा ले आइतबार मात्र ओलम्पिक भवनमा लागेको ताला खोलेर ओलम्पिकको तदर्थ कमिटीलाई साँचो हस्तान्तरण गरेको थियो ।
तदर्थ समितिको आगामी कार्ययोजनाहरूः
-तदर्थ समिति गठनबारे आईओसी, ओसीए तथा सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराई समन्वय गर्ने ।
-समस्या समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, सदस्य खेल संघ, खेलाडी, खेलकर्मी र सरोकारवालासँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने ।
-ओलम्पिक कार्यक्रम अन्तर्गतका बृहत् खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्ने ।
-जापानमा हुने २० औं एशियाली खेलकुदमा नेपालको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद् र खेल संघहरूसँग समन्वय गरी खेलाडी छनोट तथा विशेष प्रशिक्षणको तयारी गर्ने ।
-एनओसीसँग आवद्ध खेल संघहरूको समस्या समाधानका लागि पहल गर्ने ।
-विधानअनुसार साधारण सभाबाट निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले निर्वाचन गराई नयाँ नेतृत्व चयन गर्ने ।











प्रतिक्रिया