काठमाडौं ।
इजरायली सेनाले गाजामा कार्यरत पत्रकारहरूलाई लक्षित गर्दै निरन्तर आक्रमण गरिरहेको छ। अल–जजिराका साहसी पत्रकार अनास अल–शरीफ सहित पाँच पत्रकार अगस्ट १० मा अल–शिफा अस्पताल नजिकैको पालमा इजरायली हवाई हमलामा मारिए। अल–शरीफले गाजामा भइरहेको नरसंहार र भोकमरीको दस्तावेजीकरण गर्दै आएका थिए, जुन इजरायललाई असह्य भयो।
यसअघि सन् २०२२ मा अल–जजिराकै वरिष्ठ पत्रकार शरीन अबु अक्लेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको थियो। उनीहरूले जोखिम मोलेर गाजाको पीडा विश्वसामु ल्याएका थिए। पत्रकारहरूमाथिको यस्तो योजनाबद्ध आक्रमणलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा अधिकारकर्मीहरूले गम्भीर रूपमा लिएका छन्।
गत २२ महिनामा इजरायली आक्रमणमा २३३ जना पत्रकार मारिएका छन्। अहिले गाजाका पत्रकार भोक हड्तालमा बसेका छन्, तर आक्रमण भइरहँदा पनि क्यामेरा बोकेर मैदानमा उत्रिरहेका छन्।
प्रसिद्ध बौद्धिक एडवर्ड सईदका अनुसार साँचो बौद्धिक भनेको पीडितको पक्षमा उभिने हो। आज गाजामा सञ्चारकर्मीहरूले यही भूमिका निर्वाह गरिरहेका छन् — ज्यानको बाजी राखेर पनि सत्यको पक्षमा।












प्रतिक्रिया