तानसेन पाल्पा जिल्लाको सदरमुकाम मात्र होइन, सांस्कृतिक शहरको उपमा पाएको पुरानो नगरका रुपमा पनि परिचित छ । यो शहर काठमाडौं उपत्यकापछिको दोस्रो स्थानमा पर्ने सांस्कृतिक शहर हो । नौ दिनसम्म लगातार जात्रा हुने शहर हो तानसेन, जसको आफ्नै मौलिकता छ । विविध भाषा र संस्कृतिले भरिपूर्ण देश भएकैले हरेक दिनजसो कुनै न कुनै जाति, समुदायको उत्सव परिरहेको हुन्छ । हरेकजसो जाति, समुदायका आफ्नै संस्कृति भए पनि जात्रा, भोज र उत्सवका लागि नेवाः समुदाय प्रसिद्ध छ । यसैले पनि तानसेनलाई सांस्कृतिक शहर भनिएको हो ।
पाल्पा जिल्लाको सदरमुकाम तानसेन केही दिनयता जात्रामय भएको छ । मल्लकालदेखि नै नेवारहरुको बसोबास रहेको र परम्परादेखि जात्राको विशिष्ट परम्परा बोकेको तानसेनमा नेवार समुदायले नै जात्राको शुरुवात गरेका हुन् । तानसेनलाई जात्रामय बनाउने पनि उनीहरु नै हुन् । यहाँका जात्राहरू हाम्रो इतिहास, संस्कृति र परम्परा हुन् । यसको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । तर आधुनिकताको नाममा मौलिक एकता हराउँदै गएको र सूचना प्रविधिको विकासले गर्दा पहिलेजस्तो रौनकता नभेटिएको यहाँका बुद्धिजीवी बताउँछन् ।
यहाँ घण्टाकर्णदेखि जात्राको माहौल शुरु हुने भए पनि औपचारिकरुपमा भने जनै पूर्णिमाको दिनदेखि जात्रा शुरु हुन्छ । यस दिन दिउँसो चुइँकी निकालिन्छ । झ्यासी न्यासी झ्याई बाजा बजाउँदै, थोत्रो मादल ठटाउँदै, बोराको कपडा लगाई च्यातिएको छाता ओढ्दै, खाली लट्टाइँले हावामा चङ्गा उडाउँदै, खेलौनाको बच्चा नचाउँदै, खाली ऐना देखाउँदै, विचित्र भेषभूषा लगाएका मानिसहरूले बजारको चोक–चोकमा गई हास्यव्यङग्य पाराले यमराजको सन्देश भनेर चुइँकी सुनाउँछन् । चुइँकीको अर्थ समाचार सम्प्रेषण गर्नु हो । यही दिन साँझ मृतकको सम्झनामा सम्बन्धित परिवारबाट कुनै सदस्य विरुपको भई थोत्रो टिन लतारेर बजार परिक्रमा गर्दछन् ।
चुइँकीको दिन गरिने क्रियाकलाप तानसेनको आफ्नै मौलिक सांस्कृतिक चलन हो । स्थानीय बासिन्दा एवम् संस्कृतिका जानकार देउराली सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष मदन देउरालीका अनुसार पहाडी भूबनोटका कारण यहाँ मनाइने जात्राहरु सबै रथमा बोकेर मनाउनुपर्छ । यस्ता रथहरु दुई वा तीन तलाको बनाइएको हुन्छ । सम्बन्धित देवी–देवताको प्रतिमूर्तिलाई रथमा राखी कुनै सात–आठजनाले त कुनै तीस–चालीसजनाले बोकेर नगर परिक्रमा गराइन्छ । धेरैजसो जात्रा, चाडपर्वहरु नेवार समुदायले नै मनाउँदै आइरहेका छन् । हुन त उपत्यकामा मनाइरहेका करिब–करिब सबैजसो जात्रा–चाडपर्वहरु पहिलेदेखि नै यहाँ स्थापित गरिएको तर कतिपय ठ्याक्कै उपत्यकामा भएजस्तो भएनन्, अलि फरक तरिकाबाट हुन थाले भने कतिपय जात्रा–चाडपर्व आफ्नै मौलिक तरिकाबाट पनि मनाउन थाले ।
यहाँ मनाइने मुख्य जात्राहरु
गाईजात्रा : तानसेन र आसपासका क्षेत्रमा विषेश गरेर नेवार समुदायमा यो जात्रा मनाइन्छ । वर्षभरि मृत्यु भएका आफन्तहरुको आत्माको शान्तिको कामना गर्दै निकालिने गाईजात्रामा दिनभरि नै निर्गुण तथा भजनका साथ वास्सा निकाल्ने परम्परा छ । राजा प्रताप मल्लले काठमाडौंमा गाईजात्रा मनाउने चलन चलाएका थिए भने पाल्पामा काठमाडौंबाट आएका नेवार समुदायले तानसेनमा गाईजात्रा मनाउने चलन चलाएका हुन् । गाईजात्राको दिन विशेष गरी महिला मृतकको सम्झनामा काम्ले गाईका साथै जोगी, वासा, देवी–देवताको स्वरुप बनाएर बजार घुमाइन्छ । निर्गुण भजन गाइन्छ । दरबारमा पु¥याइन्छ । दरबारमा पु¥याइनुको मतलब यस दिन यमराज दरबारमा बसेका हुन्छन् रे ।
यसो गरिँदा मृतकहरू सजिलै स्वर्ग जान्छन् भन्ने विश्वास छ । यो वर्ष मृत्यु भएका आफन्तले यसरी निर्गुण र भजनका साथ जात्रा निकाले पनि परलोक भएकाहरुको आत्माले स्वर्गमा बास पाउँछ भन्ने किंवदन्तीअनुसार गाईजात्रा निकालिन्छ । जात्रा हेर्न सदरमुकाम आएका गाउँलेहरुले पनि पितृहरुको नाममा लस्सी, दूध, दही र फलफूल दिने प्रचलन छ । गाईजात्राका अवसरमा नेवार बस्ती भएका पाल्पाको ताहुँ, रामपुर, हार्थोक, भैरवस्थान, खस्यौलीको हीरापोखरा, आर्यभन्ज्याङलगायतका स्थानमा वास्सा निकाल्ने र निर्गुण गाएर गाईजात्रा निकाली यो चाड मनाइएको छ । यहाँ गाईजात्राका दिन अरु ठाउँभन्दा फरक ढंगले काम्लाको गाई बनाउने र नगर परिक्रमा गर्ने परम्परा छ ।
रोपाइँ जात्रा : गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा देखाइन्छ । तानसेन बजारको सड़क, चोक, टुँडिखेल, दरबारलगायतका स्थानमा असारे धान रोपिएको अभिनय गरिन्छ । रोपाइँ जात्रा कुनै वर्ष ५–६ वटासमेत हुन्छ भने कुनै वर्ष १–२ वटा मात्र हुन्छ । ठ्याक्कै रोपाइँको दृश्य ! हली, गोरु, बाउसे, रोपाहार अनि धानको बीउ । त्यत्ति मात्रै हो र ? असारे भाकामा पञ्चेबाजाको ताल अनि खेतमा असारमा जे–जस्ता क्रियाकलापहरु गरिन्छन्, सडकमै रोपाइँको झल्को दिने गरी जात्राको माध्यमबाट मनोरञ्जन दिने काम यो जात्रामा हुन्छ ।
पञ्चेबाजाको तालमा भर्खरका युवायुवती सडकमा धान रोप्ने, हलगोरुले सडकमा जोत्ने, विभिन्न थरीका रोपाइँका गीत गाउँदै दिनभरि मच्ची–मच्ची नाचेर दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिने गर्छन् । रोपाइँ जात्रामा गरी छाता ओढेर, अघि–पछि सहयोगी राखेर रोपाई हेर्ने, साहु, पुलिस, फोटो पत्रकार बनेर अभिनय गरेर मनोरञ्जन प्रदान गर्दछन् । हिले अर्थात् रोपाइँ जात्रामा आ–आफ्नै शैलीमा रोपाइँ जात्रा निकालिन्छ । यसै गरी ग्रामीण बगनासकालीको नायर र भैरवस्थान, रामपुर, जब्गादी सराइलगायत ग्रामीण बजारमा पनि रोपाइँ जात्रा निकाल्ने परम्परा छ । विभिन्न व्यक्तिलाई विभिन्न भेषभूषामा प्रयोग गर्नुपर्छ । त्यसैले अहिले सामान्यतया ५० हजार र बढीमा २ लाख रुपैयाँसम्म खर्च हुने तर लगानी नउठ्ने गरेका कारण पहिले–पहिलेजस्तो धेरै टोलीहरुले यो जात्रामा सहभागिता जनाउन छाडेको भेटिन्छ ।
बाघजात्रा, गणेशजात्रा र भीमसेन जात्रा : रोपाइँ जात्राको भोलिपल्ट बाघजात्रा पर्दछ । वाघको रुपमा सिँगारिएको मान्छेलाई सिकारीहरूले घेरेको अभियनमा बाघजात्रा देखाइन्छ । अचेल यो जात्रा हटाउन थालेकोले संरक्षण गर्नुपर्छ भन्ने जनगुनासो रहेको छ । यो जात्रामा बाघको जस्तो भयावहरुपमा बाजागाजासमेत गरी नगरका विभिन्न टोलमा नाचगान गर्दै घुम्ने परम्परा छ । त्यस्तै यहाँको श्रीनगरमा रहेकोे गणेश मन्दिरबाट गणेशको रथ निकाल्ने जात्रा गणेशजात्रा हो ।
गणेशको मूर्तिलाई रथमा राखी नगरका विभिन्न भागमा पूजा ग्रहण गर्दै जात्रालाई मन्दिरमै विर्सजन गर्ने गरिन्छ । जात्राहरुमा स्थानीय सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न महानुभावहरुको सहभागिता रहने र स्थानीय भजन मण्डलीले भजनकीर्तनसमेत प्रस्तुत गर्ने प्रचलन छ । भीमसेन भनेका महाभारतका शक्तिशाली भीम हुन् । शीतलपाटीमा पनि एउटा भीमसेन मन्दिर छ । यसको जात्रा भने माघ महिनामा भीमा द्वादशीको दिन निकालिन्छ । तानसेन बजारभित्र मात्रै ६ वटा भीमसेन मन्दिर रहेका छन् । भीमसेन नेवारहरूका कुलदेवता हुन् ।
कृष्णलीला : भाद्रकृष्ण अष्टमीको दिन राति हुलाक चोकमा अस्थायी कृष्णमन्दिर बनाई कृष्णलीला देखाइन्छ । भोलिपल्ट कृष्णजात्रा निकालिन्छ । यो कृष्णजात्रा स्थानीय कृष्णभक्तहरुले कररिब ४० वर्षअघिदेखि मौलिकरुपमा मनाउन लागेका हुन् ।
भगवती जात्रा : नेपाली वीरको गाथा र गौरवका रुपमा लिइने नेपाल–अंग्रेज युद्धको सम्झना अनि त्यही युद्धमा नेपाली सेनाले अंग्रेजलाई हराएको सम्झनामा र वीरताको प्रतीकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिन्छ । तत्कालीन पाल्पा गौंडाका कर्णेल उजिरसिंह थापाले नेपाल–अंग्रेजको जीतगढी युद्धमा विजय प्राप्त होस् भनी भाकल गरेको र विजय प्राप्त गरेपछि शुरुवात भएको हो भगवती जात्रा ।
नेपाल–अंग्रेज युद्धसँग जोडिएको र वीरताको प्रतीकका रुपमा प्रत्येक वर्ष मनाइने पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो जात्रा श्री ७ रण उज्ज्वेश्वरी भगवती जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइन्छ । तत्कालीन नेपाल–अंग्रेज युद्धमा विजयोल्लासस्वरुप शुरुवात भएको भनिने पाल्पाको ऐतिहासिक भगवती जात्रालाई गौरव र महत्वपूर्ण उत्सवको रुपमा लिइन्छ । तत्कालीन जीतगढीको युद्धका लागि दलबलसहित तानसेनदेखि हिँड्नुअघि कर्नेल उजिरसिंह थापाले तानसेन दरबारछेवैमा रहेको भगवतीको प्रतिमाअगाडि उभिएर ‘अंग्रेजलाई जितेर फर्केमा जीर्ण मन्दिरको जीर्णाेद्वार गर्नुका साथै अबिरजात्राको परम्परा बसाल्ने’ भनी भाकल गरेका थिए ।
६ महिनासम्मको युद्धपछि आफ्नो पल्टनलाई सुरक्षित मुकाम फिर्ता ल्याई भगवतीको नवनिर्मित मूर्ति प्रतिष्ठापित गरेर जात्राको परम्परा चलाएको भन्ने इतिहासकार डा. कर्णबहादुर बानियाद्वारा लिखित ‘पाल्पाको भगवती जात्रा’ नामक किताबमा उल्लेख गरिएको छ । यो जात्राको अघिल्लो दिन भगवतीको मन्दिरमा जाग्राम बस्दा भजन गाइन्छ । मध्यराति साइतअनुसार विधिपूर्वक पूजा गरी भगवतीको प्रतिमूर्ति बाहिर ल्याएर खटमा राखिन्छ ।
र, उपयुक्त समयमा अर्काे दिन उल्लासमय माहौलमा जात्रा निकालिन्छ । दिउँसो १ बजे बन्दुक पड्काएर जात्रा निकालिन्छ । पितलको सुन्दर खटलाई तीनपटक मन्दिर परिक्रमा गराइन्छ । नेपाली सेनाद्वारा सलामी अर्पण गरिन्छ । भगवतीको खटभित्र पूजारी बसेका हुन्छन् भने परम्पराअनुसार कुमाल समुदायका जवानहरूले खट बोक्छन् । यो जात्रामा देशका विशिष्ट व्यक्ति, प्रशासक राजनीतिज्ञ, तानसेन एवं पाल्पा अनि आसपासका जिल्लाका व्यक्तिको समेत सहभागिता हुन्छ । प्रदेश सरकारले केही वर्षयता यस पर्वलाई मान्यता दिई जिल्लामा बिदा दिने प्रचलन पनि बसालेको छ ।
जात्राको नयाँ रुप र युवापुस्ताको संलग्नता :
त्यसो त परम्परागतरुपमा नै चलिआएका जात्रालाई नयाँ रुप दिनका लागि पाका पुस्ताभन्दा युुवापुस्ता लागेको भेटिने गरेको छ । मन्दिरहरुका रथयात्राका परम्परालाई विगतमा अलि उमेर पुगकाहरुले निरन्तरता दिन्थे भने अहिले यो काममा युवाहरु लागेका भेटिन्छन् । हुन त विगतमा यहाँ आफ्नै प्रयास वा केही संघसंस्थाको आयोजनामा जात्रा अवधिमा महोत्सव आयोजना गरेर जात्राको परम्परा र संस्कृति जोगाउने काम हुन्थ्यो । तर पछिल्ला दिनमा यस्ता महोत्सव हुने गरेको देखिँदैन । त्यस्तै जात्रा जोगाउनका लागि स्थानीय तहले पनि खासै चासो दिएको र पर्याप्त आर्थिक सहयोग गरेको देखिँदैन ।
यस्तै जात्रा मनाउने क्रममा घण्टाकर्ण (गठेमंगल) को दिन जन्मेको लाखेलाई मध्यरातमा मारिन्छ । लाखे मार्नुको उद्देश्य दानवमाथि देवीको जीत हुनु र असत्यमाथि सत्यको विजय हुनु हो । यसका साथै तिथिमितिअनुसार कालभैरव, बटुक भैरव, लक्ष्मीनारायण, हनुमान जात्राका साथै बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीको अवसरमा बुद्धजात्रा निकाल्छन् । यी सबै जात्राहरू हाम्रो इतिहास, संस्कृति र परम्परा मात्र हैनन्, पाल्पा–तानसेनको गौरवशाली ऐतिहासिक, सांस्कृतिक परम्पराका द्योतक हुन्, जसको संरक्षण एवं संवद्र्धन गर्नु सम्बद्ध सबैको दायित्व हो ।











प्रतिक्रिया