नेपाल भारतसँग ७–० ले पराजित


काठमाडौं।

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारतविरुद्ध ७–० को फराकिलो हार बेहोरेको छ ।

बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भारतलाई जित दिलाउन अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई जुलन नोन्गमाइथिमले समान एक गोल गरे ।

खेलको १४औं मिनेटमा अविस्ताको गोलमार्फत भारतले अग्रता लिएको थियो । ९ मिनेटपछि नै निराले टोलीको अग्रता दोब्बर बनाइन् ।

अनुष्काले ३३औं मिनेटमा गोल गर्दा भारतको अग्रता ३–० मा पुग्यो । ४१औं मिनेटमा अविस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् ।

पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दा भारतले ५–० को आरामदायी अग्रता बनायो । निराले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा भारतको अग्रता ६–० मा पुग्यो । ६३औं मिनेटमा अनुष्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरिन् ।