लन्डन, (एजेन्सी)
प्रिमियर लिगको यस समर ट्रान्सफर विन्डो बन्द हुन दुई हप्ता बाँकी रहँदा, क्लबहरू नयाँ खेलाडीहरू अनुबन्धमा रेकर्ड बनाउन अग्रसर भएका छन् ।
फुटबल ट्रान्सफर डटकमअनुसार जुनमा विन्डो खुलेदेखि इंग्लिस प्रिमियर लिग क्लबहरूले खेलाडीहरू अनुबन्ध गर्न २.२६ बिलियन पाउन्ड खर्च गरिसके । यो २०२४ को समर ट्रान्सफर विन्डोमा खर्च गरिएको १.९७ बिलियन पाउन्डमा १२.७% ले वृद्धि भएको हो । अहिलेसम्मको रेकर्ड भने २०२३ को समर ट्रान्सफर विन्डोमा खर्च भएको २.३६ बिलियन पाउन्ड हो ।
थप सम्झौताहरू आउन बाँकी र १ सेप्टेम्बरको समयसीमा नजिकिँदै गर्दा नयाँ रेकर्ड स्थापित हुने निश्चित देखिन्छ । यू्रोपको ठूला लिगमध्ये प्रिमियर लिगले धेरै खर्च गरेको छ । प्रिमियर लिग क्लबहरूले खेलाडी विक्रीमा उठाएकोभन्दा १ बिलियन पाउन्ड बढी खर्च गरिसकेको छ । जसमा, प्रिमियर लिग विजेता लिभरपुलले सबैभन्दा बढी ३ सय मिलियन पाउन्ड खर्च गरेको छ ।
यसपछि स्पेनी ला लिगा मात्रै आम्दानीभन्दा बढी खर्च गर्नेमा परेको छ । ला लिगा क्लबहरूले विक्री गरेको भन्दा ३५ मिलियन पाउन्ड बढी रकम खर्च गरेका छन् । यूरोपका अरू शीर्ष लिगहरूले भने आम्दानीभन्दा कम खर्च गरेका छन् । जसमा, इटालि सिरी ए ले ८३० मिलियन पाउन्ड खेलाडी बेचेर कमाउँदा अहिलेसम्म ७८३ मिलियन पाउन्ड खर्च गरेको छ ।











प्रतिक्रिया