नेवाबस्तीको उत्कृष्ट संरचना र सौन्दर्य: फल्चा


सृजना प्रजापति

फल्चा-पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्दछन् । बटुवा, पाहुनाहरूलाई आराम गर्न बनाइएका यी संरचना अहिले बस्तीको सौन्दर्यका रूपमा रहन गएका छन् । पुराना बस्तीमा जमघट र विशेष गरी ज्येष्ठ नागरिकहरूलाई साथीभाइ भेटघाट गर्ने सामाजिक स्थानको परिचय पनि हुन गएको छ । पानी पर्दा ओत लाग्ने, थकाइ लाग्दा आराम गर्ने र नगरका भजन–जात्राहरूमा पनि फल्चा विशेषरूपमा प्रयोग हुन्छ । फल्चा काठमाडौं उपत्यकाको नगर विकासको उत्कृष्ट संरचना बनेको छ । नेवा शैलीको बस्तीमा नगरभित्र र बाहिर फल्चाहरू जताततै पाइन्छन् । अझ पहिलाको व्यापारिक मार्गहरूमा केही दूरीमा फल्चासँगै लोहहिटी÷ढुंगेधारासमेत भेटिन्छन् । बटुवालाई थकान मेट्न फल्चा र प्यास मेट्न हिटीको व्यवस्था गरिएको थियो । नगरभित्र भने फल्चासँग हिटी, खुल्ला स्थान, मन्दिर, चैत्य र पोखरीसमेत हुन्छन् । सिचुफल्चा, ज्याख्व फल्चा, लोह फल्चा, न्याट्टे फल्चा, बिडोल फल्चा, लान्चा फल्चा, वर्केपली आदि भक्तपुरका केही फल्चाका नामहरू हुन् । कतिपय फल्चाहरू संरक्षणको अभावमा र भूकम्पमा भत्केपछि पुनर्निर्माण नगरिएका कारण लोप भएर गए । विशेष गरी शाह र राणाकालमा यसको संवद्र्धन र प्रवद्र्धन हुन सकेन । नयाँ त बनाइएन नै, पुरानो मल्लकालीन फल्चासमेत मासिए । बरू भक्तपुर नगरपालिकाले झन्डै लोप भइसकेका फल्चाहरूलाई पुनर्जीवन दिन थालेको छ । उदाहरणका रूपमा वंशगोपाल फल्चा, साकोलान, तचपालको फल्चा आदि ।

इतिहास र अभिलेखमा पाटी:

पाचौं शताब्दीभन्दा अगाडि बनेको काष्ठमण्डपले लिच्छविकालदेखि नै पाहुना राख्ने सार्वजनिक भवन बनाउने प्रचलन रहेको देखाउँछ । हुन त फल्चा निर्माण धेरै अगाडिदेखि शुरु गरिएको हुनुपर्छ । तर हाल बाँकी रहेका फल्चाहरुको शिलालेखहरु हेर्ने हो भने अधिकांश मल्लकालीन समयमा नै बनेको देखिन्छ । त्यस समयका शिलालेखहरु अध्ययन गर्दा अधिकांश फल्चाहरू सर्वसाधारणले नै बनाएको देखिन्छ । कीर्ति राख्ने र धर्म कमाउने उद्देश्य रहेको भए तापनि सर्वसाधारणलाई खुल्ला राखिने हुँदा यो सामाजिक र लौकिक कार्य नै देखिन्छ । ने.सं. ७५१ मा बनाइएको सूर्यमढी भक्तपुरको एक पाटी तचपा टोलका विषमसिंह दर्शनधारीले बनाएका हुन् (राष्ट्रिय अभिलेखालय, २०८०) । यस अभिलेखले पाटी बनाउने मान्छे माथिल्लो वर्ग नै हुनुपर्छ भन्ने रहेनछ भनेरसमेत देखाउँछ । त्यस्तै अर्को भक्तपुरकै जेलाँ टोलमा रहेको एक पाटीको अभिलेख पनि विशेष नै छ । यस अभिलेखमा ने.सं. ८२९ मा टोलनायक र पञ्चभलाद्मी मिलेर यो पाटी जीर्णोद्धार गरिएको कुरा उल्लेख छ । (राष्ट्रिय अभिलेखालय, २०८०) । यस अभिलेखमा नेपाल संवत्लाई साख्वा संवत् भनी कुँदिएको छ । जसले शंखधर साख्वा (सर्वसाधारण व्यापारी)ले नेपाल संवत् बनाएको हो कि होइन भन्ने शंकालाई निवारण गर्न मद्दत गर्छ ।

फल्चाको बनावट :

नेवाः वास्तुकलामा बिजोर संख्यालाई शुभ मानिएजस्तै फल्चाको कवल पनि प्रायः बिजोरमै निर्माण गरिन्छ । छक्व (एक कवल), स्वक्व (तीन कवल), ङाक्व (पाँच कवल) र न्हेक्व (सात कवल) फल्चाहरू अधिकांश देख्न पाइन्छ । सत्तलको तलको खुल्ला फल्चाको रूपमा लायकु÷दरबार क्षेत्रका संरचनामा धेरै कवलहरू छन् । तर फल्चा नै भनेर बनाइएकोमा वर्गाकारमा सोह्रखुट्टे र लामोमा नौ कवलसम्म भएको फल्चा पाइन्छ ।

कहीँ कतै दुई कवल (जोर) मात्र भएका फल्चाहरू पनि भेटिन्छन् । ती अत्यन्तै नगन्य मात्र रहेका छन् । चौडाइमा निकै कम करिब डेढ÷दुई फिटको मात्र भएकोले टौमढीको जंगम मठको पाटीलाई सबैभन्दा सानो फल्चा भन्ने गरिन्छ । मल्लकालीन शैलीका फल्चामा सबैभन्दा बढी प्रचलित तीन कवलवाला फल्चा हो । यी फल्चाहरु शहरी बाटोको दिशा हेरी कतातिर मोहडा बनाउने निर्धारण गरिन्छ । थोरै फल्चामात्रै चारैतिर खुल्ला हुन्छ । बढी प्रचलित तीन कवलवाला फल्चा चौडाइतर्फ एक कवल मात्रै हुन्छ । अवस्था हेरी यसका छानाहरू एक, दुई, तीन वा चारपाखे निर्माण गरिन्छ ।

कवलका आधारमा धेरै प्रकारका फल्चा छन् भने भक्तपुरको पुरानो नगरभित्र र बाहिर बनाउने हिसाबले तीन प्रकारका फल्चा हुन्छन् । त्यति बेला देश भन्नाले नगरभित्र बनाउने फल्चा, पाली फल्चा (आफ्नै घरमुनि गाँसिएकै) र शहरबाहिर बनाउने पली फल्चा आदि हुन् । प्रकार्यगत हिसाबमा देशबाहिर बनाइने फल्चामा ढुंगा बिछ्याइएका हुन्थे । नगरभित्रका फल्चामा भने काठ नै बिछ्याइन्थे । अरु बनौट उस्तै भए तापनि नगरबाहिरका फल्चामा एउटा कोठाजस्तै छुट्याएर गारो लगाइएको हुन्थ्यो । यसरी नगरबाहिरका फल्चालाई पली फल्चा भनिन्थ्यो । यसको उद्देश्य÷प्रकार्य पहिला हिँडेर जाने समयमा बास बस्नुपरेमा प्रयोग गर्नु थियो । त्यस्तै खाना पकाएर खानु परे पनि आगोले असर नगरोस् भनी ढुंगा नै बिछ्याइन्थे ।

संरचनागतरूपमा हेर्दा फल्चालाई तीन भागमा विभाजन गर्न सकिन्छ । ती जमिन तहको गारोको भाग (प्लिन्थ लेभलसम्म), बीचको थांः (थाम) हरू हुने भाग र माथिल्लो छानाको भाग हो । यसबाहेक जग र पेटीको भाग पनि यसका अंगहरू नै हुन् । जमिन तहको गारोको भागमा पेटी, नागो, न्हेकंलोह, र बीचको गारो हुन्छ । पहिले–पहिले मुनिको ओस माथि नआओस् वा गारोभित्रको भागमा हावा आवतजावतको लागि गारोमा प्वाल÷ग्वाखंप्वाः वा एकातिरको गारो नबनाई खुल्ला राखिन्थ्यो । अहिले भने गारो र लाकांसीको बीचमा थोरै (१ इन्चजति) ग्याप राख्ने गरिन्छ ।

गारोको भागको माथिल्लो तहमा फल्चामा लाकांसी (नेपाल भाषाको शब्द, लाकांको अर्थ जुत्ता र ‘सीः’ को अर्थ काठ) र पली फल्चामा ढुंगाको लहर बिछ्याइन्छ । यो भागको उचाइ मान्छे बस्न मिल्ने गरी राखिन्छ । तीनमध्ये बीचको भागमा थामहरू र गारोको संयोजन हुने गर्छ । प्रायः तीनतिर खुल्ला र एकातिर गारो लगाइन्छ । थामहरूलाई मुनि बिछ्याइएको लाकांसीमाथि ठड्याइन्छ । जोर्नी बाहिरबाट देखिँदैन तर लाकांसीमा १ गुणन १ इन्चको प्वाल बनाई थाममा अलिकति काठको भाग निकालिएकोलाई छिराएर ठड्याइन्छ । यसको माथि मेथ हुन्छ र त्यसमाथि निल जोडिन्छ । थामहरूमा निकै सादादेखि पूरा बुट्टा पनि हालिएको हुन्छ । पूरा लम्बाइमा बुट्टा हालिएका थाम कमै भेटिन्छन् भने तीन भागको एक भाग जति बुट्टा हालिएका थामहरु थुप्रै भेटिन्छन् । यही भागमा फल्चाको प्रयोग गर्ने स्थान हो । त्यसैले फल्चाको बीचमा काठ र पली फल्चामा ढुंगा बिछ्याइन्छ ।

तेस्रो र महत्वपूर्ण छानाको भाग हो । यो प्राविधिक रूपमा पनि मिलाउन गाह्रो भाग हो । यसमा बाहिर झिँगटी देखिए पनि भित्र पूरै काठको संरचना हुन्छ । जसले झिँगटीको भार थाम्छ र यहाँ बस्नेहरुलाई घाम, पानीले बचाउँछ । सिकर्मीले जति मेहनत गरेर सही संरचना बनाउँछ त्यति नै डकर्मीलाई झिँगटी बिछ्याउँदा उबडखाबड हुँदैन । छाना जति उत्कृष्ट भयो फल्चाको आयु उति नै बढ्छ । किनकि फल्चाको मुख्य समस्या नै भूकम्पमा यो भाग गह्रौं भएर भत्कने र पानी पर्दा उबडखाबडमा पानी जमेर चुहिने हो । जमेको पानी बिस्तारै भित्र–भित्र फैलन्छ । यसले माटो र काठको संरचनालाई बिगार्छ । छानाको संरचना नेवाः घरको छानाजस्तै हुन्छ । यसमा निल, थाम, टोनसी, मुसी, सिपुबालाको संयोजन रहन्छ । नगरभित्रका कुनै फल्चाहरूमा यो भागमा पनि चारैतिर गारो लगाई अलिकति उचाइ बढाइन्छ । जहाँ भजनका सामानहरू भण्डारण गर्न प्रयोग गरिन्छ । यो शैली पनि काठमाडौं उपत्यकामै फल्चाको विकासक्रमसँगै नयाँ उद्भव भएको हुनुपर्छ ।

सम्पदा निर्माणमा पनि कमिसनकै खेल:

चाँगुनारायण नगरपालिकाको भर्खरै सकिएको फल्चामा नाम नबताउने सर्तमा एक निर्माणकर्मीले कमिसनको खेलबारे बताए । पहिले उनी आधुनिक ढलान घर नै बनाउँथे । अहिले परम्परागत कामको पनि फेसनजस्तै चलेकोले केही वर्षदेखि उनी यस कार्यमा संलग्न रहेका थिए । यही क्रममा सोही फल्चा बनाउने प्रस्ताव उनलाई आयो । उनले आफ्नो अनुभवको आधारमा प्रस्ताव स्वीकार गरे । तर बाइस लाखको बिलमा सही गरेर सम्पूर्ण लागतसहितको बाह्र लाख मात्र भुक्तानी पाए । ‘किन त्यस्तो गर्नुप¥यो ?’ भनी सोध्दा ‘नभए काम पाउनै सकिँदैन’ भन्ने जवाफ दिए । यसरी लागतभन्दा झन्डै आधा भुक्तानी पाएपछि निर्माण सामग्री र श्रममा गुणस्तर कसरी कायम होला ?

यहीँ प्रश्न गर्ने खालको एक तस्वीर (महर्जन, २०८२) आजकल भाइरल भइरहेको छ । जसमा भक्तपुरमा बनेको फल्चाको लागत बाह्र लाख र काठमाडौंमा हाल बस बिसौनीका रूपमा बन्दै गरेको फल्चाको लागत ३१ लाख भनी देखाइएको छ । अढाइ गुणा लागत बढेपछि प्रश्न उठ्नु त स्वाभाविक नै हो । यसरी प्रश्न उठेपछि दुवैको इस्टिमेटहरू तुलना गर्नै पर्छ । काठमाडौंको दर रेटमा ज्यामीको ज्याला, निर्माण सामग्रीको मूल्य नै बढी छ कि ? वा गुणस्तरीय सामग्री पो प्रयोग भयो कि ? यता भक्तपुरको निर्माण सामग्री पनि एउटै गुणस्तरको हो कि होइन ? हुन त भक्तपुरमा कतिपय सामाजिक संरचना वा सम्पदाको कार्यमा जनसहभागिता (श्रमदान) हुने गर्छ । तर त्यसको समेत मूल्यांकन गरेपछि लागत अढाइ गुणा बढ्छ कि बढ्दैन ? अब स्थानीयले आफैँले लागतमा मात्र नभई गुणस्तरमा, टिकाउपनमा, अनुकूलतामा पनि नियाल्दै जानुपर्छ । स्थानीयहरूको सहभागिताले लगानी घट्छ र कामको जाँच भई गुणस्तर बढ्छ । त्यसैले सामाजिक सञ्जालमा मात्र प्रश्न उठाउने होइन, आफैँ उपभोक्ता समिति गठन गरी निःस्वार्थ कार्य गर्न पनि अघि सर्नुपर्छ ।

अन्त्यमा, यसरी हाम्रो परम्परागत र सामाजिक संरचनाहरूमा स्थानीयले नै अपनत्व बनाउनुपर्छ । हेरचाह र मर्मत÷जीर्णोद्धार गर्नुपर्छ र कमिसनको खेलबाट जोगाउनुपर्छ । फल्चा हाम्रो समाजलाई मात्र नभई हरेक अन्जान बटुवा र पर्यटकलाई समेत ओत दिने संरचना भएकोले नयाँ बस्तीहरूमा समेत बनाइनुपर्छ । बरु नयाँ बस्तीमा थप सुविधासमेत र किफायती हिसाबले बनाउन सकिन्छ ।

(लेखक प्रजापति आर्किटेक्चर हुनुहुन्छ । उहाँ हाल नेपाली इतिहास, संस्कृति र पुरातत्व विभाग, त्रि.वि.मा पी.एच.डी.गर्दै हुनुहुन्छ भने मेथड कन्सल्टेन्सी, भक्तपुरमा आबद्ध हुनुहुन्छ ।)