भारत–चीन सीमा विवाद समाधानका लागि समिति गठन


काठमाडौं ।

भारत र चीनले सीमा विवाद समाधान गर्न संयुक्त विशेषज्ञ समिति गठन गर्ने भएका छन्। चिनियाँ विदेश मन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा सीमा निर्धारणका लागि चाँडो समाधान खोज्ने सहमति भएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्र मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको भेटपछि कैलाश मानसरोवर यात्रा बढाउने, प्रत्यक्ष उडान सुरू गर्ने र लिपुलेक, शिप्कि ला तथा नाथुलाबाट सीमा व्यापार पुनः सुरु गर्ने सहमति पनि भएको छ।

साथै, पूर्वी र मध्य क्षेत्रमा नयाँ संयन्त्र बनाउने तथा पश्चिमी संयन्त्रलाई निरन्तरता दिने निर्णय गरिएको छ। सन् २०२६ को ब्रिक्स सम्मेलन भारतमा र २०२७ को सम्मेलन चीनमा गर्ने सहमति पनि भएको छ। गलवान झडपपछिको कटुतामा केही सुधार देखिएको समाचारमा उल्लेख छ।